काठमाडौं, ३ साउन : भारतको जयनगर-जनकपुरधाम (कुर्था) रेल्वे ट्रयाकको स्पीड परीक्षण र सर्टिफिकेसन गरिएको छ । आइतबार जयनगरबाट आएको भारतीय रेलले जनकपुरधामको कुर्था स्थित मुख्य स्टेशन सम्म स्पिड परीक्षण र सर्टिफिकेसन गर्ने कार्य सम्पन्न गरेको हो ।
भारतीय कोनकन कम्पनीका प्रतिनिधी तथा नेपालका महाप्रवन्धक गुरु भट्टराईले संयुक्तरुपमा निरिक्षण पश्चात जनकपुरधामको कुर्था रेल्वे स्टेशनमा पुजा समेत गरिएका थियो । स्पिड परिक्षण सम्बन्धि जानकारी दिदै रेल्वेका महाप्रवन्धक भट्टराईले भारतीय डव्लु डि एम थ्रीडी नामको इन्जिन तथा दुइवटा मालवाहक डव्वा सहित आएको ट्रेनले स्पिड परिक्षण गरेको बताए ।
उनले लिकहरुको समय समयमा मर्मत तथा पुलहरुको पनि सबै काम भइसकेकोले समस्या नरहेको जानकारी दिए । सरकारले पटक पटक नेपालमा रेल चल्ने भनेर मिति किटान गरेपनि रेल्वे चल्न सकेको छैन । महाप्रवन्धक भटराईले रेल नचल्नुमा राजनीतिक खिचातानी महत्वपुर्ण कारण रहेको बताए ।
तोकिएकै मितिमा रेल चलाउनका लागि सम्पुर्ण तयारीहरु गरिएपनि सरकार परिवर्तन भएको कारण रोकिएको उनको भनाई छ । जनकपुरधाम (कुर्था) जयनगर रेल सञ्चालनका लागि रेल्वे ट्रयाक एकवर्ष अगाडी नै निर्माण पुरा भइसकेको छ । दुई सेट रेल पनि आएको १० महिना भएको छ । ०७७ आश्विन २ गते जनकपुरधाम रेल आउँदा स्थानीय उत्साहित बनेका थिए । तर रेल कहिले सञ्चालनमा आउने कुराको अझै टुङ्गो नलाग्दा स्थानीय निराश बन्न थालेका छन् ।