राष्ट्रिय सभाको नवौँ अधिवेशन सुरु

admin

काठमाडौं, ३ साउन : संघीय संसद अन्तर्गतको राष्ट्रिय सभाको नवौँ अधिवेशन सुरु भएको छ । सर्वोच्च अदालतबाट प्रतिनिधिसभा पुनर्स्थापना भएसँगै संघीय संसद अन्तर्गतको राष्ट्रिय सभाको अधिवेशन पनि सुरु भएको हो । बैठकको शुभारम्भ गर्दै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवेशन आह्वानका सम्बन्धमा गएको असार ३१ गते पठाएको पत्र पढेर सुनाए ।

बैठकमा सर्वोच्च अदालतको परमादेश अनुसार प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पदमा नियुक्त गरेको र प्रधानमन्त्री देउवाको सिफारिसमा मन्त्रीहरु नियुक्त गरिएको सम्बन्धमा राष्ट्रपति कार्यालयले पठाएको पत्र पनि अध्यक्ष तिमिल्सिनाले पढेर सुनाएका थिए ।

अहिले बैठकमा दलका नेताहरुले अधिवेशन प्रारम्भ भएको अवसरमा आ-आफ्नो दलको तर्फबाट मन्तव्य राखिरहेका छन् । बैठकमा सत्तारुढ दल नेपाली कांग्रेसले कोरोना विरुद्धको खोपमा कमी आउन नदिन सरकारको ध्यानाकर्षण गराएको छ । नवौँ अधिवेशनको शुभारम्भमा नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारीले कोरोनाविरुद्धको खोपमा कमी आउन नदिन सरकारसँग आग्रह गरेका हुन् ।

त्यसै गरी उनले मनसुनी वर्षासँगै आएको बाढी, पहिरो र डुबान प्रभावितहरुका लागि तत्काल राहतको व्यवस्था गर्न पनि सरकारसँग अनुरोध गरे । सांसद अधिकारीले देशमा सुशासन र समृद्धि ल्याउने गरी कानुन निर्माण गर्नुपर्ने, सत्तापक्ष, प्रतिपक्ष सबै दलले हातेमालो गरेर आवश्यक्ता अनुसार संविधान संशोधन गर्दै लैजानुपर्नेमा पनि जोड दिए ।

प्रतिक्रिया