नेम्वाङद्वारा सर्वोच्चको फैसलाले धेरै कुरालाई भत्काउँदै प्रधानमन्त्री पदलाई कमजोर बनाएको टिप्पणी

admin

काठमाडौं, ८ साउन : प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले सर्वोच्च अदालतको फैसलाले धेरै कुरा भत्काएको बताएका छन् । प्रतिनिधि सभाको (आज) शुक्रबारको बैठकमा प्रधानमन्त्रीलाई दलका नेताको तर्फबाट बधाई तथा शुभकामना दिँदै नेम्वाङले फैसलाले धेरै कुरालाई भत्काउँदै प्रधानमन्त्री पदलाई कमजोर बनाएको पनि टिप्पणी गरेका छन् ।

सोही क्रममा सर्वोच्चले परमादेश दिनुले राज्यका अङ्गबीचको नियन्त्रण र सन्तुलनको सिद्धान्त अन्तर्गत नभएकाले राज्यका अङ्गबीचको सन्तुलन गुमेको उनले बताएका हुन् । अब राजनीतिक आन्दोलन गर्ने समय सकिएको भन्दै नेम्वाङले आफूहरू जिम्मेवार प्रतिपक्षीको भूमिका निर्वाह गर्ने बताए ।

नेम्वाङले प्रतिनिधि सभा अधिवेशनको पहिलो बैठकमा कुनै पनि विशेष काम गर्न नहुने भए पनि सरकारले विश्वासको मत लिएको भन्दै असन्तुष्टि जनाए । यस्तै उपनेता नेम्वाङले प्रधानमन्त्री शेरबहादुर देउवालाई चुनाव नसार्न पनि आग्रह गरे ।

नेम्वाङले जनादेश प्राप्त नभएकाले सरकारमा जान्नँ भन्ने शेरबहादुर देउवालाई अहिले बधाई दिनुपर्ने अवस्था आएको पनि बताए । संविधानले प्रधानमन्त्री चयनको व्यवस्था गरेको र त्यो भनेको नागरिकको जनादेशबाट हुने गरेको नेम्वाङको भनाइ छ ।

प्रतिक्रिया