नागरिकलाई स्वास्थ्य राज्यमन्त्रीको नियुक्तिले पहिलो गाँसमै ढुङ्गा लागेको छ : डा. केसी

admin

काठमाडौं, १२ साउन : स्वास्थ्य क्षेत्र सुधारका अभियन्ता डाक्टर गोविन्द केसीले स्वार्थको द्वन्द्व हुने व्यक्तिलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नेतृत्व नदिन आग्रह गरेक छन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्र पठाएर डा. केसीले स्वास्थ्य क्षेत्रमा यो सरकारबाट धेरै आशा भए पनि सरकारका सुरुवाती गतिविधिले स्वास्थ्य सेवा सुधारको अपेक्षा गरेका नागरिकलाई पहिलै गाँसमा ढुङ्गा लागेको दाबी गरेका छन् ।

देशको सार्वजनिक स्वास्थ्य प्रणाली धराशायी बनाएर निजी अस्पताल फस्टाएको पृष्ठभूमिमा निजी अस्पतालका सञ्चालकलाई स्वास्थ्य मन्त्रालयमा जिम्मेवारी दिने कदम निन्दनीय भएको र आफूहरूलाई स्वीकार्य नहुने डाक्टर केसीको चेतावनी छ । स्वास्थ्य राज्यमन्त्रीलाई पदमुक्त गर्न माग गर्दै डा. केसीले नीतिगत भ्रष्टाचारलाई संरक्षण नगर्न सुझाव दिएका छन् ।

यस्तै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा चलिरहेको आन्दोलनका सबै माग पूरा गरेर संस्था सुधारलाई अघि बढाउनुपर्ने, अघिल्लो सरकारको संरक्षणमा रहेर चिकित्सा शिक्षा आयोगका पदाधिकारीलाई धम्क्याउने व्यक्तिलाई कानुनअनुसार कारबाही हुनुपर्ने र कुनै पनि बहानामा निजी मेडिकल कलेज खोल्न नहुने उनको भनाइ छ ।

यस्तै आउँदो शैक्षिक सत्रदेखि गेटा मेडिकल कलेजमा र त्यसपछिको शैक्षिक सत्रमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस सुरु गर्ने कुरालाई निश्चित गर्न पनि डा. केसीले माग गरेका छन् ।

प्रतिक्रिया