सत्तारुढ गठबन्धनको शीर्ष बैठकमा तत्कालै मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति

admin

काठमाडौं, १३ साउन : सत्तारुढ गठबन्धनको शीर्ष बैठकमा तत्कालै मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति भएको छ । बुधबार नै माधव नेपालसहित शीर्ष नेताहरू पुनः छलफल गर्ने र सरकार सञ्चालनका विषयमा सहमति गर्ने निर्णय भएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले शीर्ष नेताहरूले मन्त्रीको नाम दिएपछि मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको छ ।

बैठकमा गठबन्धनको तर्फबाट सरकारको साझा नीति तथा कार्यक्रम ल्याउनेबारे पनि छलफल भएको छ । देउवा प्रधानमन्त्री नियुक्त भएको दुई हप्ता बितिसक्दासमेत मन्त्रिपरिषदले पूर्णता पाउन सकेको छैन । मन्त्रिपरिषदमा अहिले कांग्रेस र माओवादीका दुई–दुई जना मन्त्री र एकजना राज्यमन्त्री मात्र छन् ।

बुधबारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासहित कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का र कृष्णप्रसाद सिटौला तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रवक्ता नारायणकाजी श्रेष्ठ, जसपाबाट अध्यक्ष उपेन्द्र यादव, डा. बाबुराम भट्टराई र अशोक राई तथा जनमोर्चाबाट अध्यक्ष चित्रबहादुर केसी र दुर्गा पौडेल तथा एमालेको माधव नेपाल समूहबाट विजय पौडेल उपस्थित थिए ।

 

प्रतिक्रिया