अर्थ मन्त्री शर्माद्वारा कोरियासँग भाषा परीक्षा पास गरेकालाई छिटो लैजान आग्रह

admin

काठमाडौं, १३ साउन : नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ सकले अर्थ मन्त्री जनार्दन शर्मासँग बुधबार शिष्टाचार भेट गरेका छन् । मन्त्रालयमा भएको भेटमा अर्थ मन्त्री शर्माले भाषा परीक्षा उत्तीर्ण गरी कोरिया जान नपाएका युवाहरूलाई काम गर्ने वातावरण बनाइदिन आग्रह गरे ।

कोरोना भाइरस महामारीका कारण रोकिएको प्रक्रिया चाँडै अघि बढाउन सरकारको तर्फबाट हुनुपर्ने काम गरिने प्रतिबद्धता जनाउदै मन्त्री शर्माले कोरियाको तर्फबाट आवश्यक प्रक्रिया अघि बढाइदिनसमेत आग्रह गरे । ‘ईपीएस अन्तर्गत कोरियाली भाषा परीक्षा उत्तीर्ण गरेका हजारौँ युवा बेरोजगार बसेका छन् । यो समस्या चाँडै समाधान गरिनेछ भन्ने विश्वास लिएको छु’, मन्त्री शर्माले भने ।

उक्त जवाफमा राजदूत पार्कले रोकिएको ईपीएसको काम अघि बढाउन आफूले पहल गर्ने वचन दिए । नेपालीहरूको मेहनत र इमानदारिताबाट कोरियाली रोजगारदाताहरू खुसी रहेको प्रसङ्ग उल्लेख गर्दै राजदूत पार्कले भाषा परीक्षा उत्तीर्ण गरी पालोमा बसेका श्रमिकहरूलाई काममा पठाउने प्रक्रिया अघि बढाइने जानकारी दिए ।

भेटका क्रममा अर्थ मन्त्री शर्माले कोरोनाविरुद्धको खोप पहिलो प्राथमिकता भएको भन्दै त्यसका लागि कोरियाली नागरिकको तर्फबाट आवश्यक सहयोग रहने विश्वास व्यक्त गरे । उनले नेपालको स्वास्थ्य, शिक्षा र प्रविधिको क्षेत्रमा कोरियाले गरिरहेको सहयोगप्रति आभार प्रकट गरे । कोरियाले नेपालमा स्वास्थ्य, शिक्षा, जलविद्युत् लगायतका क्षेत्रमा लगानीसमेत गर्दै आइरहेको छ ।

कोरियाको लगानीमा भक्तपुरको ठिमी, नुवाकोट, धनगढी र मुगुमा सुविधा सम्पन्न अस्पताल निर्माण भएको छ भने महोत्तरीको बर्दिवासमा मोडेल पोलिक्लिनिक कलेजको स्थापना गर्दैछ । यस कलेजले निर्माण क्षेत्रका लागि दक्ष जनशक्ति उत्पादन गर्नेछ । मन्त्री शर्माले कोरियासँग नेपालको ४८ वर्षदेखि सुमधुर सम्बन्ध कायम रहिआएको र यसलाई अझै प्रगाढ बनाउन कोसिस गरिने बताए ।

भेटका क्रममा राजदूत पार्कले कोरियाली लगानी रहेको माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाको काममा भइरहेको ढिलाइबारे चासो राखेका थिए । आयोजनामा ढिलाइ हुँदा लागत बढ्न जानेतर्फ चिन्ता रहेको उनले बताए ।

प्रतिक्रिया