नेपाललाई सरकारमा सहभागी हुन दबाब

admin

काठमाडौं, १४ साउन : प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमाले माधव नेपाल समूहलाई सरकारमा आउन पटक–पटक आग्रह गरे पनि निर्णय लिन नसकेका बेला नेपाल समूहका सांसदहरूले नेता नेपाललाई सरकारमा सहभागी हुन दबाब दिएका छन् ।

बुधबार बसेको नेपाल समूहका २२ सांसदको बैठकमा उनीहरूले वर्तमान देउवा नेतृत्वको सरकारमा आफ्नो समूह सहभागी हुनुपर्ने भन्दै दबाब दिएका थिए ।

छलफलमा सहभागी सांसद मेटमणि चौधरीले आफ्नो समूहका सबै सांसदले सरकारमा सहभागी हुन नेता नेपाललाई सुझाव दिएको बताए । उनले भने– ‘हामी सरकारमा जान्छौं, केही कानुनी कुरामा केही समय लागेको मात्र हो, सरकारमा सहभागी हुने विषयमा कानुनविद्सँग पनि परामर्श भइरहेको छ ।’

संविधान र संसद् बचाउनका लागि देउवालाई प्रधानमन्त्री बनाइसकेका अवस्थामा आफूहरू सरकारमा सहभागी नहुने भन्ने प्रश्न नै नभएको उल्लेख गर्दै चौधरीले भने– ‘हामी सरकारमा जान्छौं, सरकारमा सहभागी हुने विषयमा २२ सांसदको एउटै मत छ ।’

वरिष्ठ नेता नेपाल भने पार्टीभित्र एकताको प्रयास जारी रहेकाले तत्काल सरकारमा सहभागी नहुने अडानमा रहेका छन् । तर, नेपाल पक्षीय कतिपय सांसद भने सरकारमा सहभागी हुनुपर्ने पक्षमा छन् । सांसद चौधरीका अनुसार बैठकमा एमाले संसदीय दलको नेतासमेत फेर्नुपर्ने माग उठेको छ । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

प्रतिक्रिया