मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे छलफल भए पनि मन्त्रीको टुङ्गो लगाउन बाँकी

admin

काठमाडौं, १४ साउन : प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ । बिहीबार बिहान बालुवाटारमा भएको छलफलमा मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे कुराकानी भएको छ ।

(आज) बिहीबार या शुक्रबारसम्ममा मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे छलफल भए पनि मन्त्रीको टुङ्गो लगाउन भने बाँकी छ । बुधबार बसेको सत्तारुढ गठबन्धनको बैठकले छिट्टै मन्त्रिपरिषद्लाई पूर्णता दिने निर्णय गरेको थियो । मन्त्री बन्ने व्यक्तिको टुङ्गो नलाग्दा प्रधानमन्त्रीमा नियुक्त भएको दुई हप्ता बित्दासमेत देउवाले मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् ।

प्रधानमन्त्री देउवालाई पार्टीभित्रको आन्तरिक कारण र सत्ता साझेदार दलहरूको विभिन्न कारणले मन्त्रिमण्डललाई पूर्णता दिन सकस परेको उनी निकटका एक नेताले बताएका छन् । कांग्रेसभित्र वरिष्ठ नेता रामचन्द्र पौडेल तथा कृष्णप्रसाद सिटौला समूहलाई समेट्ने विषयमा पनि समझदारी हुन सकेको छैन ।

मुख्य सत्तासाझेदार दल नेकपा माओवादी केन्द्रले पनि सरकारमा जाने मन्त्रीको टुङ्गो लगाउन सकेको छैन । जनता समाजवादी पार्टी (जसपा)ले सरकारमा जानेको नाम टुङ्ग्याउन तीन शीर्ष नेतालाई जिम्मा दिएको छ । एमालेको माधवकुमार नेपाल पक्षले भने तत्काल सरकारमा सहभागी नहुने बताइसकेको छ ।

प्रतिक्रिया