थप एक करोड दुई लाख डोज खोप असोजसम्म आउँछ : राज्यमन्त्री श्रेष्ठ

admin

काठमाडौं, १८ साउन : स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले कोरोना भाइरस महामारी नियन्त्रणका लागि नीतिगत प्रतिबद्धता र कार्ययोजना सार्वजनिक गर्दै पाँच करोड २३ लाख डोज खोप सुनिश्चित भएको जानकारी गराएका छन् । नीतिगत प्रतिबद्धता र कार्ययोजनामा जनस्वास्थ्यका मापदण्ड पालना गराउन सचेत गराउने, मास्क वितरण गर्ने, आईसीयू, एचडीयू, भेन्टिलेटर र अक्सिजनको व्यवस्था गर्ने लगायतका काम समेटिएका छन् ।

सोमबार उनले असोज मसान्तभित्रमा थप एक करोड दुई लाख गरी दुई करोड डोज खोप आइसक्ने भन्दै आउँदो चैतसम्म १२ वर्षभन्दा माथिको उमेर समूहका सबै नागरिकलाई खोप दिइसक्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । अहिलेसम्म ९७ लाख ८२ हजार डोज खोप नेपालमा प्राप्त भएको र ६२ लाख १८ हजारभन्दा धेरै मात्रा खोप लगाइसकेको मन्त्रालयले जनाएको छ ।

कोभ्याक्स सुविधाअन्तर्गत एक करोड १३ लाख, कोभ्याक्सको लागत सहभागितामा एक करोड ५० लाख र बालबालिका लक्षित फाइजर कम्पनीबाट ६० लाख गरी तीन करोड २३ लाख डोज खोप खरिद प्रक्रियामा रहेको राज्यमन्त्री श्रेष्ठले बताए । यस्तै पहिलो चरणमा कोभिशिल्ड खोप लगाएका १३ लाख ४८ हजार नागरिकलाई जापान सरकारको अनुदानमा प्राप्त हुन लागेको एस्ट्राजेनेका खोप प्राप्त हुनासाथ तीन दिनभित्र वितरण गरिने उनले बताए ।

यस्तै वयस्क तथा किशोर-किशोरीसमेतलाई लक्षित गरी मोडर्ना खोप ४० लाख, जोन्सन एन्ड जोन्सन खोप ५० लाख, फाइजर खोप ४० लाख र एस्ट्राजेनेका खोप २० लाख गरी एक करोड ५० लाख मात्रा खरिद प्रक्रिया सुरु भइसकेको राज्यमन्त्री श्रेष्ठले बताए ।

प्रतिक्रिया