दाहाल र नेपालबीच भेटवार्ता, केपी ओली र नेपालबीच पनि आजै भेटवार्ता गराउने तयारी

admin

काठमाडौं, १९ साउन : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । मंगलबार बिहान कोटेश्वरमा भएको छलफलमा मन्त्रिपरिषद् विस्तारलगायत विषयमा छलफल भएको बुझिएको छ ।

सत्तारुढ गठबन्धनबाट सरकारका न्यूनतम साझा कार्यक्रम ल्याउने र मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी भइरहेका बेला भएको यो भेटलाई अर्थपूर्ण मानिएको छ । नेता नेपाल पक्ष सरकारमा सहभागी हुने नहुनेबारे निर्णय नहुँदा मन्त्रिपरिषद्लाई पूर्णता दिन प्रधानमन्त्री शेरबहादुर देउवालाई सकस परेको छ । नेपाल पक्ष सरकारमा नगए नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपालाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्री देउवाको तयारी छ ।

यस्तै, एमालेका दोस्रो तथा तेस्रो तहका नेताहरुले अध्यक्ष केपी शर्मा ओली र नेता नेपालबीच मंगलबार नै भेटवार्ता गराउने तयारी गरेका छन् । पार्टी भित्रको विवाद मिलाउन दोस्रो तथा तेस्रो तहका नेताहरु सक्रिय भए पनि अध्यक्ष ओली र नेता नेपालले एक अर्कालाई आरोप-प्रत्यारोप लगाउँदै आएका छन् ।

प्रतिक्रिया