सारुवा गरेको भनिए पनि युनिफाइड अस्पतालमै हाजिर भए डा. गौतम

admin

काठमाडौं, १९ साउन : डाक्टर जागेश्वर गौतमलाई सरुवा गरेको भनिए पनि उनी (आज) मंगलबार युनिफाइड अस्पतालमै हाजिर भएका छन् । कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. गौतमलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले युनिफाइड अस्पतालबाट थापाथलीस्थित प्रसुती गृहमा सरुवा गरेको थियो ।

सोहीबारे डा. गौतमलाई स्वास्थ्य सचिव डा. रोशन पोखरेलले मौखिक जानकारी गराएका थिए । तर अहिलेसम्म पत्र नपाएको भन्दै आफू युनिफाइड अस्पतालकै कार्यकक्षमा रहेको गौतमले बताएका छन् । उनले सरुवा भयो भनेर भनिएतापनि अहिलेसम्म चिठी नपाएको बताएका छन् । आफू कार्यकक्षमै रहेको तर आफ्नो ठाउँमा कोही आए जिम्मा लगाएर आफू हिँड्ने जानकारी गराएका छन् ।

स्वास्थ्य मन्त्रालयले भने गौतमको सरुवा अलमल भएको बारे बोल्न चाहेको छैन । मन्त्रालयका एक उच्च अधिकारीले अहिलेलाई सरुवा पत्र रोकिएको भन्ने मात्र कुरा आएको भन्दै धेरै कुरा बाहिर नआइसकेको बताए । मन्त्रालयले गौतमलाई प्रसुती गृहमा सरुवा गर्दै उनको ठाउँमा ट्रमा सेन्टरका रुद्र मरासिनीलाई ल्याउने भनेको छ ।

गत जेठ १० गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले डा. गौतमलाई अध्यादेशमार्फत कोभिड युनिफाइड केन्द्रीय अस्पतालको नेतृत्व दिएको थियो । त्यसअघि वीर अस्पताल ‘न्याम्स’ को स्वामित्वमा थियो । जसले गर्दा कानुनबिना अस्पतालको नेतृत्व सरकारले तोक्न निमिल्ने अवस्था थियो । त्यसैले सरकारले कोभिड-१९ संकट व्यवस्थापन अध्यादेश २०७८ जारी गर्दै वीर अस्पताललाई कोभिड-१९ केन्द्रीय अस्पताल घोषणा गरेर त्यसको नेतृत्व डा. गौतमलाई दिएको थियो ।

त्यसअघि गौतम स्वास्थ्य मन्त्रालयका प्रवक्ता थिए । वीर अस्पताललाई कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पताल घोषणा गरिएपछि देशभरका कोभिड डेडिकेटेड अस्पतालको कमाण्ड युनिफाइड अस्पतालले नै गर्ने भनिएको थियो । त्यसले गर्दा पनि उक्त अस्पतालमा अलिक हक्की नेतृत्व चाहिने भन्दै सरकारले डाक्टर गौतमलाई त्यसको जिम्मेवारी दिएको थियो ।

तर, तत्कालिन सरकारले गौतमलाई अध्यादेशमार्फत युनिफाइड अस्पतालको नेतृत्व दिएका कारण वर्तमान सरकारले उक्त अध्यादेशलाई नै निरन्तरता दिन्छ वा वीर अस्पताललाई न्याम्सकै स्वमित्वमा ल्याउँछ भन्ने टुंगो भएको छैन । जसले गर्दा युनिफाइड अस्पतालको अस्तित्व नै के हुन्छ भन्ने अन्यौल छ । किनकी वीर अस्पतालको नयाँ सर्जिकल भवनलाई नै कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पताल बनाइएको छ ।

प्रतिक्रिया