दार्चुला घटना र खोपको विषयमा सरकारप्रति खनिए एमाले सांसद, अब जनता भन्दैछन्, केपी बा आई लभ यू ।

admin

काठमाडौं, १९ साउन : प्रतिनिधि सभाको मंगलबारको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद दार्चुलाको घटना र खोपको विषयलाई लिएर सरकारमाथि खनिएका छन् । प्रतिनिधि सभाको शून्य समयमा बोलेका प्रमुख प्रतिपक्षका सांसदले दार्चुला घटनामा सरकार मौन बसेको आरोप लगाएका छन् । भारत सरकारका विरुद्ध बोल्न नसकेको, कम्फर्टेबल भएको भन्दै निन्दा गरेका छन् ।

प्रतिनिधि सभाको बैठक सुरु हुनुअघि आफू बसेको ठाउँबाट उठेर सरकारको ध्यानाकर्षण गराएका नेकपा एमालेका सांसदले शून्य समयको भरपुर उपयोग गरेका छन् । सरकारले दार्चुला घटनामा छानबिन समितिको निष्कर्ष आउनुअघि धारणा सार्वजनिक उचित नहुने बताइरहेका बेला सांसदहरूले सरकारले भारतीय राजदूतलाई बोलाएर स्पष्टीकरण लिनुपर्ने आवाज उठेको छ ।

त्यसैगरी सत्तारुढ दलका सांसदले पनि समसामयिक विषयमा आफ्नो धारणा राखेका छन् । सांसद विमला नेपालीले तीन वर्ष अगाडि नै प्रधानमन्त्री केपी शर्मा ओलीले तुइन विस्थापित गर्ने घोषणा गरेको भए पनि अहिलेसम्म विस्थापित हुन नसकेको भन्दै नेताहरूले सक्ने कामबारे मात्रै बोल्न सुझाएकी छिन् । उनले नेताले नागरिकलाई झुक्याउन नहुनेमा सचेत गराएकी छिन् ।

उनले भनिन् ‘केपी शर्मा ओलीले पहिलो निर्णय नै एक वर्षभित्रमा देशैभरिका तुइन विस्थापित गर्छु भन्ने प्रतिबद्धता गर्नुभएको कुरा आज सम्झना आयो । उहाँ तीन वर्ष प्रधानमन्त्री हुनुभयो तर काम भएन । आज हामीले यो दुःखद घटना सम्झनुपर्दा उहाँको बोलीको ठेगान थिएन भन्ने कुरा प्रमाणित भएको छ । तसर्थ हामी नेतृत्वमा बस्ने व्यक्तिहरूले सक्ने काम मात्रै गरौँ, नसक्ने काममा नबोलौँ र नागरिकतालाई नझुक्काऔँ भन्ने कुरा राख्न चाहन्छु ।’

सांसद भरतकुमार साहले राज्य व्यवस्था समितिबाट पास भएर संसदमा आएको नागरिकतासम्बन्धी विधेयकलाई संसदबाट छिट्टै पास गराउनुपर्नेमा सरकारको ध्यानाकर्षण गराएका छन् । उनले सवारी साधनको लाइसेन्स परीक्षा नखुलेको भन्दै त्यसलाई पनि खुलाउनुपर्नेमा जोड दिएका छन् । सांसद भीमसेन दास प्रधानले विदेश जाने श्रमिकहरू खोप लगाएको प्रमाणित गर्न भिडभाड गर्दै लाइनमा बस्नुपरेको भन्दै त्यसलाई सहज बनाउन सरकारसमक्ष माग गरे ।

सांसद भूमिप्रसाद त्रिपाठीले दार्चुला घटनाको सत्य-तथ्य सार्वजनिक गरी दोषीलाई कारबाही र पीडित परिवारलाई क्षतिपूर्तिको माग गरे । वर्तमान सरकार भारतीय दादागिरीका सामु निरीह भएको उनको टिप्पणी छ । उनले भने, ‘सत्यरतथ्य अविलम्ब सार्वजनिक गर्न, दोषीलाई कारबाहीको दायरामा ल्याउन र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिलाउन सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछु । वर्तमान सरकार भारतीय दादागिरीका सामु निरीह साबित भएको छ । यो सरकार नेपाली नागरिकका लागि होइन । अरू कसैका लागि कम्फर्टेबल भएको चर्चा सर्वत्र सुन्न पाइन्छ । हेक्का रहोस् गोरु सधैँ ब्याउँदैन । लोकतन्त्रमा नागरिक नै भगवान हुन् ।’

सांसद मनकुमारी जिसीले केही महिनाअघि दुई राउटे युवतीलाई अमानवीय व्यवहार गरिएको र उनीहरूको जीवन नै जोखिममा रहेको प्रचारप्रसार भइरहेको भन्दै उनीहरूको अवस्था सार्वजनिक गर्न सरकारसँग माग गरे। सांसद महेश बस्नेतले कांग्रेस नेतृत्वको सरकारले स्वास्थ्य माफियालाई संरक्षण गरेको आरोप लगाए । त्यस्तै सरकारले खोपको दुरुपयोग गरेकोप्रति कवितात्मक शैलीमा खरो टिप्पणी गरे । उनले वर्तमान सरकार चल्ने जस्तो नदेखिएको पनि बताए ।

सांसद बस्नेतले भने, एसएसबीले तुइन काटे, जयसिंह धामी महाकालीमा डुबे । सरकार भन्छ मौन बस, समाचार नबनऊ । प्रधानमन्त्री भन्नुहुन्छ– खोप, खोप, खोप । कांग्रेसको मेयरको घरमा खोप । उपसभापतिको घरमा खोप । होटलमा सत्ता पक्षको कार्यकर्तालाई खोपै खोप, नागरिक दिनभरि लाइनमा खोप न सोप । बिचरा सरकार व्यापारी मन्त्री बनाउँछ । दक्ष सचिव फेर्छ । वीर अस्पतालको एमडी फेर्छ । स्वास्थ्य माफियालाई संरक्षण गर्छ । देशभर बाढी पीडित नागरिक राहत पाइनँ भनेर कराउँदछन् । कांग्रेसका विपक्षीहरू मन्त्री नपाए सरकारमा जान्न भन्दैछन् । कांग्रेसका वडा अध्यक्षहरू नगरपालिकाको कार्यालय फोड्दै छन् । माओवादी, जसपा भन्दैछ– मन्त्री सङ्ख्या नबढाए सांसदले आत्महत्या गर्ने भए । दिमागमा आतङ्क ल्याए, भूकम्प ल्याए । परमादेशबाट बनेको सरकार तीन हप्ता भएछ, मन्त्रीमण्डल गठन भएन, न्यूनतम साझा कार्यक्रम आएन । प्रधानमन्त्री अब बेरोजगार भएका त्रिपाठीहरूलाई अदालत पठाउनुस् । फलानो पार्टीका फलानो मन्त्रीलाई मन्त्री बनाइँ पाउँ भनेर परमादेश जारी गराउनुस् । नत्र जनादेशविनाको सरकार चल्ला जस्तो देखिएन । अब जनता भन्दैछन्, केपी बा आई लभ यू ।’

सांसद महेश्वरजंग गहतराज अथकले दार्चुला घटनाको सत्य-तथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न कुटनीतिक र राजनीतिक तहबाट छलफल अगाडि बढाउनुपर्ने बताए । सांसद मीनबहादुर विश्वकर्माले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनियमितता र भ्रष्टाचार भएको भन्दै त्यसको छानबिन गर्न माग गरे । त्यहाँ आन्दोलनरत चिकित्सक, कर्मचारी र विद्यार्थीहरूको मागलाई सम्बोधन गरिनुपर्ने उनले बताए ।

सांसद मेटमणि चौधरीले अब प्रतिनिधि सभा पूरा अवधि चल्नुपर्ने बताए । संविधानको पालना गरी त्यहीअनुसार सरकार सञ्चालन गर्न उनले सरकारको ध्यानाकर्षण गराए । सत्तामा बस्नेहरूलाई घमण्ड नदेखाउन पनि उनले सचेत गराए । सांसद योगेश भट्टराईले कोरोना रोकथाम र नियन्त्रणमा सरकारलाई समयको छुट नभएको बताए । स्वास्थ्य मन्त्री र प्रधानमन्त्रीले घोषणा गरेअनुसार खोप उपलब्धता हुनेमा शङ्का व्यक्त गर्दै उनले प्रतिबद्धताअनुसार काम गर्ने समय सुरु भएको सुझाए । सांसद रामकुमारी झाँक्रीले वर्तमान सरकारले विगतको सरकारले गरेको जनविरोधी कामहरूलाई खारेजी गर्नुपर्ने बताइन् ।

प्रतिक्रिया