अफगानिस्तान:रक्षामन्त्रीको घरनजिकै शक्तिशाली विस्फोट, मन्त्रीसहित सयौँ परिवार सुरक्षित स्थानमा भागे

admin

काबुल: अफगानिस्तानको राजधानी काबुलमा मंगलबार दुई घण्टा भन्दा कम अवधिमा चारवटा विस्फोट भएका छन् । पहिले साना विस्फोट भए पनि पछिल्लो विस्फोट शक्तिशाली भएको बताइएको छ । दोस्रो विस्फोट सहरको मुख्य भागमा भएको थियो ।

अमेरिकी दूतावास सहित विभिन्न कुटनीतिक नियोगका कार्यालय भएको उच्च सुरक्षा क्षेत्रको रुपमा लिइने ग्रीन जोनमा दोस्रो विस्फोट भएको स्थानीय मिडियाले जनाएका छन् । पछिल्लो शक्तिशाली विस्फोट अफगान रक्षामन्त्री बिस्मिल्लाही मोहम्मदीको निवास नजिकै गरिएको बताइएको छ । रक्षामन्त्री मोहम्मदीले ट्वीट गर्दै आफू सुरक्षित रहेको प्रतिक्रिया दिएका छन् । तर पछिल्लो समय रक्षामन्त्रीको परिवार सँगै यस क्षेत्रका सयौँ परिवार सुरक्षित स्थानतर्फ गएका छन् ।

उक्त विस्फोट यहाँस्थित एक सांसदको निवासलाई लक्षित गर्दै गरिएको एक वरिष्ठ सुरक्षा अधिकारीले अलजजीरालाई बताएका छन् । गृहमन्त्रालयका प्रवक्ता मिरवाइस स्तानेकजाइका अनुसार हतियारधारी समूह यस क्षेत्रमा प्रवेश गरेर विस्फोट गराएका थिए ।

साथै यस क्रममा केही सुरक्षाकर्मी समेत मारिएको बताइन्छ । र हतियारधारी समूहका केही लडाकुहरु यहाँका घरभित्र लुकेको हुनसक्ने आशंका समेत गरिएको छ । श्रृंखलावद्ध विस्फोटमा कम्तिमा १० जना घाइते छन् । तर घटनाको जिम्मेवारी अहिलेसम्म कसैले लिएको छैन ।

अमेरिकाले आफ्ना सबै सैनिक फिर्ता लैजानुअघि नै अगानिस्तानमा सशस्त्र समूह तालिबानले तिब्र रुपमा कब्जा जमाउँदै थियो । अधिकांश क्षेत्र तालिबानले कब्जा गर्दैआएको जनाएको छ । यद्यपि कतिपय लेखक तथा विश्लेषकहरुले अमेरिकी सेना फिर्ता लैजान नहुने पक्षमा आफ्नो मत जाहेर गर्दैआएका थिए ।
-एजेन्सी

प्रतिक्रिया