बीस वर्ष पालेको भाले मरेपछि हिन्दू परम्पराअनुसार नै दाहसंस्कार गरियो

admin

काठमाडौं, २२ साउन : दाङमा एक व्यक्तिले लामो समय पालिएको कुखुराको भाले मरेपछि दाहसंस्कार गरेका छन् । तुलसीपुर उपमहानगरपालिका-१५ पहरुवानिवासी शिव सुवेदीले उक्त भालेलाई १९ वर्ष १० महिना पाले तर भाले साउन १६ गते मर्‍यो । भाले मरेपछि उसलाई पनि परिवारको सदस्यजस्तै मानेर दाहसंस्कार गरिएको सुवेदीले बताएका छन् ।

सुवेदीले भाले मरेपछि गाउँका २०-२५ जनाको सहभागितामा नजिकको टैवा खोलामा लगेर दाहसंस्कार गरिएको बताए । हिन्दू परम्पराअनुसार मान्छेको मृत्यु पछि जे-जे गरिन्छ, सोहीअनुसार नै भालेलाई पनि अन्त्येष्टि गरिएको उनले बताए । उनले भने, ‘कपाल खौरिएको छु, नुन छोडेँ, सेतो कपडा लगाएँ ।’ भाले मरेपछि घरपरिवार मात्रै नभई गाउँ समाजसमेत भावुक बनेको उनले बताए ।

भाले बीस वर्ष बाँचेपछि त्यसप्रतिको सम्मान र माया पनि उत्तिकै बढेकाले पनि भावुक हुने अवस्था आएको सुवेदीको भनाए छ । यसले पशुपक्षीलाई पनि सम्मान गर्नुपर्छ भन्ने भावना बढाएकोसमेत उनले बताए ।  उक्त भाले १४ वर्ष पुगेपछि सुवेदीलाई ‘भाले कति वर्ष बाँच्दो रहेछ त’ भनेर खुल्दुली जाग्यो र उनले भालेलाई जति बाँच्छ, त्यति पाल्ने निधो गरेका थिए ।

भाले १७ वर्षको हुँदा युट्युब तथा सामाजिक सञ्जालमा चर्चा पायो । त्यही बखत उनले गिनिज बुक अफ वर्ल्ड रेकर्ड राख्ने पनि योजना बनाएका थिए । तर, धेरैले खर्चिलो हुने भनेपछि गिनिज बुकमा नाम लेखाएर नेपालकै नाम विश्वमा चिनाउने योजनाको प्रक्रिया नै अगाडि बढाउन नसकेको उनले बताएका छन् ।

प्रतिक्रिया