एसईईमा मनपरी नम्बर

admin

काठमाडौं,२४ साउन : राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) को परीक्षाफल प्रकाशन गरेको छ । विद्यालयहरूले यसपालि पनि विद्यार्थीलाई आफूखुसी अस्वाभाविक नम्बर दिएको पाइएको छ ।

यसपटक एसईईमा ४ लाख ८४ हजार २ सय ७८ जना सहभागी भएकामा ४ जीपीए ल्याउनेको संख्या ८ हजार ४ सय ४४ छ । गत वर्ष ४ लाख ७२ हजार ७८ विद्यार्थी सहभागी भएकामा विद्यालयहरूले ९ हजार ३ सय १९ जनाले ४ जीपीए ल्याएका थिए । जबकि बोर्डले परीक्षा सञ्चालन गर्दा २०७५ मा १ सय ६ र २०७४ मा ७४ जनाले मात्रै ४ जीपीए पाएका थिए ।

विद्यालयले आफूखुसी नम्बर दिने प्रवृत्तिलाई नियन्त्रण गर्न बोर्डले यसपटक कार्यविधिमा कडाइ गरे पनि नतिजामा सुधार हुन सकेन । बोर्डले कुनै विषयमा ८० प्रतिशतभन्दा बढी प्राप्तांक दिए अनिवार्य कारण खुलाउनुपर्ने व्यवस्थासहित ‘एसईईको विद्यार्थी मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि २०७८’ जारी गरेको थियो ।

तर, विद्यालयहरूले कार्यविधिविपरीत पठाएका नम्बरलाई यसपटक पनि बोर्डले मान्यता दिएको छ । कार्यविधिमा विद्यालयले पठाएको अंक अस्वाभाविक लागे जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइ प्रमुखले विद्यालयमै फिर्ता पठाएर सुधार गर्न सक्ने व्यवस्था थियो ।

तर, बोर्डले विद्यालयले पठाएकै नम्बरलाई मान्यता दिएको नतिजाबाट पुष्टि भएको छ । विद्यालयले बढाएर नम्बर दिएपछि त्यसलाई ढाकछोप गर्न बोर्डले यस वर्ष कति विद्यार्थीले कुन–कुन जीपीए प्राप्त गरे भन्नेलगायत तथ्यांक सार्वजनिक गरेन ।

‘विशेषगरी सहरी क्षेत्रका निजी विद्यालयले आफ्ना विद्यार्थीलाई प्रायः ४ जीपीए दिएको पाइयो,’ शिक्षा विकास तथा समन्वय इकाइका एक प्रमुखले भने ।

विद्यालयले इकाइमा र इकाइले बोर्डमा प्राप्तांक पठाउँदा नम्बर बढाएर दिएको भेटिएको थियो । स्रोतका अनुसार तराईसहित २४ जिल्लाले अस्वाभाविक रूपमा नम्बर दिएपछि फिर्ता पठाउने विषयमा पनि बोर्डमा छलफल भएको थियो तर फिर्ता नपठाई नतिजा सार्वजनिक गरिएको हो ।

बोर्डका एक सदस्यले यसपटक पनि विद्यालयहरूले मनपरी नम्बर दिएको बताए । ‘कार्यविधि कसिलो बनाएपछि सामुदायिक विद्यालयले मनपरी अंक दिने प्रवृत्तिमा अलि सुधार गरेछन्,’ उनले भने, ‘निजी विद्यालयले भने गत वर्षजस्तै बढाएर नम्बर दिएका छन् ।’ कोरोना महामारीका कारण गत वर्षदेखि बोर्डले आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रमाणीकरण गर्न थालेको हो ।

अस्वाभाविक नम्बर दिएको भेटिएपछि कतिपय शिक्षा विकास इकाइले यसपटक नतिजा संशोधन गर्न विद्यालयमै फिर्ता पनि पठाएका थिए । त्यो गर्दा पनि समग्र नतिजा अप्रत्याशित आएको बोर्डका सदस्यहरूको भनाइ छ । गत वर्ष पनि आन्तरिक मूल्यांकनकै आधारमा बोर्डले नतिजा प्रकाशित गरेको थियो । विद्यालयले पठाएको नतिजा बोर्डले प्रमाणीकरण मात्रै गरेकाले तथ्यांकसहित सार्वजनिक नगरिएको परीक्षा नियन्त्रक रुद्रप्रसाद अधिकारीले जानकारी दिए ।

२०७४ सालदेखि गणितबाहेक सबै विषयमा कम्तीमा २५ पूर्णांकको प्रयोगात्मक परीक्षा हुन थालेपछि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या बढ्न थालेको हो । २०७२ र २०७३ मा अंग्रेजी र विज्ञान विषयमा मात्र प्रयोगात्मक परीक्षा हुँदा ४ जीपीए ल्याउने विद्यार्थीर्को संख्या २ र ४ जना मात्रै थियो ।

प्रयोगात्मक परीक्षाको अंक पनि विद्यालयले नै बोर्डमा पठाउने व्यवस्था छ । धेरै विद्यालयले प्रयोगात्मक विषयमा पूर्णांक बराबर प्राप्तांक दिएर पठाउने गरेका छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया