जमिन बाँड्ने योजना सफल भएन, जमिन नहुनेलाई रोजगारी दिएर समृद्धिको यात्रा प्रारम्भ गर्न सकिन्छ : गौतम

admin

काठमाडौं, २४ साउन : नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले जमिनमाथि व्यक्तिगत स्वामित्व कायम हुँदा सुकुम्बासी बन्ने प्रक्रिया सुरु हुने भएकाले खण्डीकरण गरिएका जमिनलाई सरकारले खरिद गरेर चक्लाबन्दीसहित कृषि उत्पादकत्व बढाउनुपर्ने बताएका छन् ।

राष्ट्रिय सभा आइतबारको बैठकको विशेष समयमा सभाका सदस्य गौतमले सबै भूमिहीनलाई जनही पाँच-पाँच कट्ठा पनि जमिन दिन नसकिने भएकाले जमिन नहुनेलाई रोजगारी दिएर समृद्धितर्फको यात्रा प्रारम्भ गर्न सकिने सुझाए । विसं २०५१ देखि अहिलेसम्मका विभिन्न सरकारले पटक-पटक सुकुम्बासी आयोग गठन गरेर जमिन बाँड्ने योजना सफल नभएकाले यो बाटो वैज्ञानिक नभएको तर्क राखे।

‘जमिनमाथि व्यक्तिको स्वामित्व रहेसम्म एकथरी मानिस धनी र जमिन नहुने गरिब तथा भूमिहीन हुँदै जानेछन्’, उनले भने, ‘त्यस कारण टुक्राटुक्रा पारिएको जमिन राज्यले बैंक ग्यारेन्टी गरेर खरिद गर्नुपर्छ र उपयोग गर्नुपर्छ, अन्यथा भूमिहीन र सुकुम्बासीको समस्या कायमै रहनेछ ।’

प्रतिक्रिया