बिदाइ कार्यक्रममा निकै बेर भक्कानिए मेस्सी, पीएसजी जान सक्ने मेस्सीको संकेत

admin

काठमाडौं, २४ साउन : लियोनेल मेस्सीले बार्सिलोना छाडेर जाने खबरले विश्वलाई आश्चर्यचकित नै बनायो । केही दिनअघिसम्म बार्सिलोनामा रहेका स्टार खेलाडी लियोनल मेस्सीको बार्सिलोनाबाट बिदाइ भएको छ । सम्झौता नवीकरण नभएपछि गएको बिहीबारदेखि मेस्सीले बार्सिलोना छाडेका थिए ।

क्लबबाट बिदा हुन अघि (आज) आइतबार मेस्सीले पत्रकार सम्मेलनको आयोजना गरेका छन् । सम्मेलनमा मेस्सी शुरुदेखि नै भावुक देखिएका थिए । आइतबार क्लबले गरेको बिदाइ कार्यक्रममा मेस्सी निकै बेर रोएका छन् । स्टेजमा बोल्न सुरु नगर्दै रोएका मेस्सी आफ्नो भनाइ टुङ्ग्याउने बेलासम्म पनि रोइरहे ।

मेस्सी रोएपछि कार्यक्रममा उपस्थित बार्सिलोनाका अन्य खेलाडी, दर्शक पनि भक्कानिएका छन् । सिनियर टोलीमा १७ र समग्रमा २१ वर्षपछि मेस्सीले बार्सिलोना छाड्न लागेका हुन् । नयाँ करार सम्झौता गर्ने पूर्वसहमति भए पनि क्लबको आर्थिक अवस्थाका कारण मेस्सीले क्लब छाड्न परेको बताइएको छ ।

सभाहलमा प्रवेश गर्ने बित्तिकै रोएका मेस्सी आफ्ना कुरा राख्दा आँशु रोक्ने प्रयासमा थिए । ‘हामी यहीँ बस्ने छौँ भन्नेमा ढुक्क थियौँ । म, मेरो परिवारलाई बार्सिलोनामा रहनेछौँ,’ उनले भने, ‘तर अब सबैलाई गुडबाई गर्नुपर्ने भएको छ ।’ २१ वर्ष क्लबमा रहँदा आफूले धेरै कुरा पाएको बताउँदै उनले आफ्ना सबै समकक्षीहरुलाई धन्यवाद दिए । ‘सत्य यो हो कि म छाडेर जाँदैछु,’ मेस्सीले भने, ‘यसरी बिदा हुनुपर्छ भनेर मैले सोचैकै थिइनँ ।’

बार्सिलोनाको खेलाडीको रुपमा आफ्नो अन्तिम पत्रकार सम्मेलनमा लियोनेल मेस्सी निकै भावुक देखिए । उनले क्याम्प नाउमा आफ्नो २१ वर्षे करियर अब समाप्त भएको घोषणा गरे । गत जुनमा करार सकिएसँगै मेस्सी ‘फ्रि एजेन्ट’ बनेका थिए । शुक्रबार क्लबले ‘आर्थिक र संरचनात्मक बाधा’ का कारण मेस्सीलाई अनुबन्ध गर्न नसकिने जनायो ।

ला-लिगाको तलबको मापदण्डभित्र रहेर बार्सिलोनाले ३४ वर्षीय खेलाडीलाई अनुबन्ध गर्न सकेन । ६ पटकका बालोन डि’ओर विजेताले अब नयाँ क्लब खोज्नुपर्ने भएको छ । पत्रकार सम्मेलनमा मेस्सीलाई उनको नयाँ क्लबको बारे पनि प्रश्न गरिएको थियो । जवाफमा मेस्सीले शुक्रबार प्रेस वक्तव्य सार्वजनिक भएपछि धेरै क्लबहरुबाट अफर आएको बताए ।

हाल उनी जाने चर्चामा रहेको पेरिस सेन्ट जर्मेनबाट पनि अफर आएको बताउँदै उनले भने, ‘पीएसजी पनि एउटा गन्तव्य हुनसक्छ ।’ यद्यपि, अहिलेसम्म कुनै क्लबसँग कुरा फाइनल भइनसकेको पनि उनले बताए । ‘म यसका लागि तयार थिइनँ । गत वर्ष म छाडेर जानेमा विश्वस्त थिएँ । तर यो वर्ष म यहीँ रहन चाहन्थे । मेरै घरमा,’ उनले भने, ‘आज मैले गुडबाई भन्नु परिरहेको छ ।’ उनले आफ्नो छोराछोरीहरुलाई पछि फर्केर यहीँ आउने वाचासमेत गरेको बताए ।

प्रतिक्रिया