काठमाडौं, २८ साउन : नेकपा एमालेका सांसद महेश बस्नेतले कांग्रेस नेताहरुको घरघरमा कोरोनाको खोप भेटिँदा नैतिकताको प्रश्न उठ्छ कि उठ्दैन? भनेर प्रश्न गरेका छन्।
बिहिबारको संसद् बैठकमा बोल्दै बस्नेतले भने, ‘कांग्रेसका मेयर, कांग्रेस उपसभापतिको घरमा, होटलमा खोप देखियो, धनकुटा नेपाली कांग्रेसको लेटर प्याडमा तपाईँ मन्त्री स्वयमले तोक लगाएर खोप पठाउनु भएको छ, यो बारेमा तपाईलाई नैतिकताको प्रश्न उठ्छ कि उठ्दैन?’
उनले विद्यार्थीहरुको परीक्षा स्वास्थ्य मापदण्ड पुरा गरी वैकल्पिक उपायहरु अबलम्बन गर्न आग्रह गरे। ‘खोप लगाउने र खोप प्रमाणपत्र लिन जनतालाई किन सास्ती? यसलाई सहजीकरण गर्ने योजना के छ?’ सांसद बस्नेतले भने, ‘११ हजार विद्यार्थी एमबिबिएस पढ्न चाहेका छन्, हाम्रो क्षमता १८२५ जना मात्र छ, बाँकी ९ हजार विद्यार्थी विदेश जान बाध्य छन्, ९० अर्ब विदेश जाँदैछ यो बारेमा विगतमा दिएका सम्बर्धन रद्ध गर्ने भन्दै हुनुहुन्छ, तपाई स्वास्थ्य माफियासँग मिल्नु भाको त होइन?
यसमा तपाईको योजना के छ?’
उनले भक्तपुरका क्यान्सर अस्पताल, अंग प्रत्यारोपण केन्द्र, क्षयरोग केन्द्र लगायतका लागि ४ अर्ब बजेट छुट्याएको जानकारी गराउँदै भक्तपुर स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने प्रकृया अगाडि बढाउन माग गरे।