आज गाईजात्रा : विकृति विरुद्ध हास्यव्यङ्ग्यका रुपमा कलाकारहरुको थरीथरी अवतार डिजिटल गाईजात्रा !

admin

काठमाडौं, ७ भाद्र : हरेक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ (आज) सोमबार विभिन्न कार्यक्रम गरेर मनाइँदै छ । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारेर आ-आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र पैसा दान गरिन्छ ।

यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाएर वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ । राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन “जनतालाई आ-आफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकालेर सहर परिक्रमा गराउनु” भनेर आज्ञा दिएका आधारमा यो पर्व सुरु भएको ऐतिहासिक तथ्य छ ।

यसबाट पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रमसमेत गराउने आदेश दिएअनुरूप हास्यव्यङ्ग्यको चलन चलेको हो भन्ने जनश्रुति पाइन्छ । प्रताप मल्लको पालादेखि चलनमा आएको गाईजात्रा हनुमानढोकाको राजप्रासाद भएर जानुपर्ने प्रथा अहिलेसम्म पनि चलिरहेको छ ।

देशका विभिन्न सहरमा गाईजात्रा मनाइने भए पनि काठमाडौं उपत्यकामा यसको विशेष रौनक देखिने गरेकामा यस वर्ष नयाँ भेरियन्टसहितको कोरोना भाइरसको संक्रमणबाट बच्न पनि भीडभाड कम गर्न सरकारले आह्वान गरेको छ । कोरोनाका कारण भौतिक दूरी कायम गरेर चाडपर्व मनाउनुपर्ने अवस्था छ ।

गाईजात्रा काठमाडौं उपत्यकालगायत बनेपा, धुलिखेल, पनौती, बाह्रबिसे, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगञ्ज, हेटौँडा र पोखरालगायत नेवार समुदायका मानिसको विशेष उपस्थिति रहेको सहरमा धुमधामका साथ मनाइन्छ । यस्तै सरकारले गाईजात्राका अवसरमा काठमाडौं उपत्यकासहित देशभरका नेवार समुदायलाई सार्वजनिक बिदा दिएको छ ।

हास्यव्यङ्ग्यका रुपमा गाईजात्रा
गाईजात्रामा हास्यव्यङ्ग्य कार्यक्रम पनि गर्ने गरिन्छ । पञ्चायती व्यवस्थाप्रति व्यङ्ग्य गरेको भन्दै २०१७ साल पुस १ गतेको शाही ‘कू’ पछि गाईजात्रामा पनि प्रतिबन्ध लागेको थियो । संस्कृतिविद् सत्यमोहन जोशी २०३३ सालमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले महोत्सवका रूपमा झाँकी र हास्यव्यङ्ग्यसहित गाईजात्रा फेरि मनाउन थालेको सुनाउँछन् ।

हास्यव्यङ्ग्यले बुझ पचाएर जथाभाबी गर्नेलाई सचेत गराउने र अनर्थकतामा सार्थकता झल्काउने उनको भनाइ छ । जात्राका क्रममा पाटनमा देखाइने सत्य युगको धान, चामलको नमुना र काठमाडौंको ठमेलमा देखाइने स्वर्ण तथा रजताक्षरमा लेखिएका पुस्तक विशेष दर्शनीय मानिन्छन् । आजभोलि गाईजात्राका अवसरमा समाजमा विद्यमान विकृति र विसङ्गति उजागर गरिन्छ ।

सार्वजनिकरूपमा मनोरञ्जनात्मक तथा व्यङ्ग्यात्मक ढङ्गले विविध कार्यक्रमको आयोजनासमेत हुन्छ । पत्रपत्रिकामा पनि सामाजिक कुरीतिलाई समेटेर हास्यव्यङ्ग्य अङ्क प्रकाशन गरिन्छ । कोरोनाका कारण पोहोर र यसवर्ष कलाकारहरुले स्टेजको सट्टा डिजिटल माध्यमबाट गाईजात्रा कार्यक्रम प्रस्तुत गरिरहेका छन् ।

कलाकारहरुद्वारा डिजिटल गाईजात्रा
कोरोना भाइरसका कारण यस वर्ष पनि कलाकारहरुले डिजिटल गाईजात्रा प्रस्तुत गरेका छन् । टेलिभिजन, युट्युब, फेसबुक लगायतका माध्यमबाट कलाकारहरुले थरीथरीका प्रहसन पस्केका छन् । विभिन्न व्यक्तिको क्यारिकेचर गर्न खप्पिस मनोज गजुरेलको समूहले ‘०७८ सालको गाईजात्रा’ प्रदर्शन गरिरहेको छ ।

भदौ १ गतेदेखि ७ गतेसम्म टेलिभिजनबाट प्रत्यक्ष प्रसारण भइरहेको यो कार्यक्रम ‘गजुरियल युट्युब’ च्यानलमा समेत हेर्न सकिन्छ । यसपटक मनोज गजुरेल बेलायती प्रधानमन्त्री बोरिस जोन्सन, रसियाका राष्ट्रपति भ्लादिमिर पुटिन, प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वशिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठको भूमिकामा देखिएका छन् ।

गजुरेलको समूहमा शैलेन्द्र सिंखडा, किरण केसी, शिवशंकर रिजाल ‘जोगिन्दर’, रवि डङ्गोल, पशुपति शर्मा, चट्याङ मास्टर, लक्ष्मण गाम्नागे, सुबोध गौतम, राजा राजेन्द्र पोखरेल, सुमन कार्की, हिमेश पन्त लगायतका कलाकारले चोटिलो व्यङ्ग्य प्रहार गरेका छन् । ‘डिजिटल माध्यमबाट त गरिरहेका छौँ तर स्टेजमा दर्शकको अघिल्तिर प्रहसन गरेजस्तो हुँदैन’ कलाकार मनोज गजुरेलले भने ।

अरु धेरै कलाकारहरुले पनि युट्युब र फेसबुकमार्फत गाईजात्रे प्रहसन र प्यारोडी ल्याएका छन् । हास्य कलाकार शिवशंकर रिजालले ‘बकम्फुसाय नमः’ नामक गाईजात्रे कोसेली ल्याएका छन् । यसमा दमन रुपाखेती, शशी विक्रम थापा, घनश्याम गौतम, सुरेश तिमल्सिना, सबु लामिछाने, बेदमणि अधिकारी, प्रेम शर्मा पौडेल, श्रेया दुलाल, शिवराम कार्की, धिरेन्द्र सिंह, गायिका राधिका हमाल लगायतको प्रस्तुति छ ।

यस्तै कलाकार दमन रुपाखेती र उत्सव केसीले ‘छताछुल्ल’ नामक प्रस्तुति ल्याएका छन् । यसमा सुभाष गजुरेल, कमलकान्त मैनाली, लक्ष्मण बिक्रम बस्नेत, सङ्गम भण्डारी, घनश्याम गौतम, लक्ष्मीनाथ तिमिल्सिना, सुरेश तिमिल्सिना, शोभा भण्डारी, दीपक सापकोटा, मनिता डङ्गोल, सन्देश राउत, आयुस्मा पाण्डे, उत्सव केसी लगायतको प्रस्तुति छ ।

कलाकार कमल ‘गाउँलेले राजनीतिक र सामाजिक क्षेत्रका विकृति विसङ्गतिलाई व्यङ्ग्य गर्दै ‘बाइ लब यु केपी बा’ नामक गाईजात्रे कोसेली ल्याएका छन् । कलाकार आशिष शाह ठकुरीले ‘बालकोटको बार्दली’ नामक गाईजात्रे प्रस्तुति ल्याउएका छन् । यस्तै कलाकार गोपाल तिमल्सिनाले ‘खै के खै के’ नामक गाईजात्रा कोसेली ल्याउएका छन् ।

विशाल कार्की, राजकुमार श्रेष्ठ, राम तिमल्सिनाको अभिनय रहेको यो प्रस्तुतिमा पनि समसामयिक राजनीतिलाई व्यङ्ग्य गरिएको छ । यस्तै सन्तोष खनाल र सुयसा खनालले ‘डाक्टरसँग प्रधानमन्त्री’ नामक प्रस्तुति ल्याएका छन् । राजनीतिक र सामाजिक क्षेत्रका विकृति विसङ्गतिलाई व्यङ्ग्य गरिने गाईजात्रा हास्यव्यङ्ग्य कलाकारहरुका लागि दशैँजस्तै हो । तर कोरोनाका कारण धीत मर्ने गरि प्रस्तुति दिन नसकिएको कलाकारहरुको गुनासो छ ।

प्रतिक्रिया