महाकवि लक्ष्मीप्रसाद देवकोटाको सालिक तोडफोड

admin

काठमाडौं, १५ भाद्र : झापाको भद्रपुरमा अढाई दशकअघि स्थापित महाकवि लक्ष्मीप्रसाद देवकोटाको अर्धकदको सालिक तोडफोड भएको छ ।

गए राति अज्ञात समूहले सालिक तोडफोड गरेको देवकोटा स्मारक संरक्षण समितिका सचिव राजु बरालले बताए । सालिकको शिर छेदन गरी भुइँमा लडाइएको अवस्थामा सोमबार बिहान भेटिएको उनले जानकारी दिए ।

भद्रपुर नगरपालिका–९ स्थित प्रकाशपुरमा २०५१ सालमा स्थानीय साहित्यप्रेमीहरूले सालिक स्थापना गरेका थिए । पूर्वपश्चिम राजमार्गको चारआलीबाट झापा सदरमुकाम चन्द्रगढी जोड्ने मेची सहायक राजमार्गको बीचमा सालिक रहेको थियो ।

सालिक तोडफोड घटनाप्रति देवकोटा स्मारक संरक्षण समितिले खेद व्यक्त गरेको र दोषी पत्ता लगाएर कडा कानुनी कारबाही गरिदिन प्रहरीमा अनुरोध गरिएको बरालले बताए ।

प्रतिक्रिया