देउवा, मोदी र नेपालको पुतला दहन

admin

काठमाडौं, १९ भाद्र : दार्चुला घटनाको विरोधमा नेकपा (एमाले)निकट विद्यार्थीहरूले नेपाल र भारतका प्रधानमन्त्रीको पुतला दहन गरेका छन् । एमालेनिकट अनेरास्ववियुमा आबद्ध विद्यार्थीहरूले शनिबार काठमाडौंको रत्नराज्य क्याम्पसबाहिर प्रदर्शन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाको पुतला दहन गरेका हुन् ।

उनीहरूले ‘जयसिंह धामीलाई न्याय दे’, ‘सीमा अतिक्रमण बन्द गर्’, ‘कठपुतली सरकार मुर्दावाद’ जस्ता नारा लगाएका थिए । त्यस्तै, उनीहरूले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको पनि पुतला दहन गरेका थिए । पुतला दहन गर्दा प्रदर्शनीमार्गमा प्रहरीले हस्तक्षेप गरेको थियो ।

भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइनको तार काटिदिँदा दार्चुलाको व्यास गाउँपालिका–२ का जयसिंह धामी महाकाली नदीमा खसेका थिए । घटनाबारे छानबिन गर्न बनाइएको समितिले हालै बुझाएको प्रतिवेदनमा पनि एसएसबीको उपस्थितिमा घटना भएको उल्लेख छ ।

तर, घटनाको विरोध गर्दै भारतलाई ‘कूटनीतिक नोट’ पठाउने कामसमेत नगरेको भन्दै विद्यार्थीहरूले विरोध प्रदर्शनसहित पुतला दहन गरेको जनाएका छन् ।

प्रतिक्रिया