सङ्खुवासभा ह’त्या प्रकरण : छ जनाको शव परीक्षण गर्न धरान लगियो

राष्ट्रिय समाचार समिति

सङ्खुवासभा, २२ भदौ : सङ्खुवासभामा एउटै परिवारका ह’त्या भएका ६ जनाको शव परीक्षणका लागि धरानमा रहेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । घटनास्थलबाट मुचुल्का उठाएर शव धरान लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मादी नगरपालिका-१ खोला गाउँका तेजबहादुर कार्कीको परिवारका सदस्यको गएको आइतबार राति ह’त्या भएको हो । प्रहरी नायब उपरीक्षक (डीएसपी) लालध्वज सुवेदीका अनुसार ८४ वर्षीया पार्वती कार्की, ५२ वर्षीय तेजबहादुर कार्की, ५२ वर्षीया कमला कार्की, ३२ वर्षीया रञ्जना कार्की, ११ वर्षीय दिपेन कार्की र सात वर्षीया गोमा कार्कीको धारिलो हतियार प्रयोग गरी ह’त्या भएको थियो ।

घटनास्थलमा अहिले प्रहरी उपरीक्षक (एसपी) भीम दाहालको कमान्डमा रहेको अनुसन्धान टोलीले तालिम प्राप्त कुकुरसहित अनुसन्धान गरिरहेको छ । डीएसपी सुवेदीसहितको टोली पनि घटनास्थलमै छ । अहिलेसम्म घटनामा संलग्न दोषी पत्ता लाग्न नसकेको डीएसपी सुवेदीले जानकारी दिए । अहिले घटनास्थल क्षेत्रका विभिन्न नाका सिल गरेर हत्यामा संलग्नको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया