एमालेद्वारा संसद् बैठकमा नाराबाजी गर्दै अवरोध

admin

काठमाडौं, २३ भदौ : नेकपा एमालेले प्रतिनिधि सभाको बैठक अवरोध गरेको छ । एमालेले बर्खास्त गरेका १४ जना सांसदलाई हटाउनुपर्नेमा सभामुखले पदमुक्त नगरेको भन्दै एमालेका सांसदहरूले बैठक सुरु हुनासाथ उठेर विरोध गर्दै बैठक चल्न नदिएका हुन् ।

एमालेका सचेतक विशाल भट्टराईले एमाले फुटाउने मनसायका साथ संसद् अधिवेशन अन्त्य गरेर अध्यादेश ल्याएकोमा आपत्ति जनाए । उनले सभामुखले माओवादी केन्द्रले सांसद हटाउँदा उनीहरूलाई तत्कालै पदमुक्तको सूचना दिइहाल्ने तर एमालेले १४ जना सांसद हटाउँदा सभामुखले वास्ता नगरेको भन्दै विरोध जनाए ।

एमाले विभाजनको लागि मतियार बनेको प्रमुख सचेतक भट्टराईले संसदमै सभामुखको आलोचना गरे । अहिले सदनमा एमालेका सांसदहरूले नाराबाजी गरिरहेका छन् । एमाले सांसदहरु नाराबाजीमा उत्रेपछि सभामुख अग्निप्रसाद सापकोटाले संसदको नियम २१ को खण्ड ख र ग अध्ययन गर्न ध्यानाकर्षण गराएका थिए । सभामुख सापकोटाले प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित गरेका छन् ।

प्रतिक्रिया