एमसीसीको बिरोध गर्दै गर्दा स्वागत नेपाल सहित १५ जना पक्राउ

admin

एमसीसी उपाध्यक्ष फतिमा सुमारको नेपाल भ्रमणको बिरोधमा एयरपोर्टको मुल गेटमै स्वतन्त्र राष्ट्रिय अभियान तथा उन्नत लोकतन्त्र पार्टीद्वारा विरोध प्रदर्शन गर्ने क्रममा स्वागत नेपाल सहित दुर्गा बस्नेत, सनि मैनाली, कृष्ण प्रसाई, श्री सिवाकोटी लगायत १५ जना पक्राउ परेका छन् ।

अधिवक्ता स्वागत नेपाल नेतृत्वको उन्नत लोकतन्त्र पार्टी र स्वतन्त्र राष्ट्रिय अभियानले संयुक्तरुपमा आयोजना गरेको बिरोध कायक्रममा स्वागत नेपालको बा १९ च ३४६ नम्बरको टक्सन गाडी समेत प्रहरीले नियन्त्रणमा लिएको छ । एयरपोर्टको मुल गेटमा गाडी तेर्साएर बाटो अवरोध गर्ने प्रयास गर्दा प्रहरीले गाडी समेत तोडफोड गरि नियन्त्रणमा लिएको थियो ।

अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फतिमा सुमार नेपाल आईपुगेकी छिन्। एमसीसी परियोजना कार्यान्वयन भएका देशहरुमा वार्षिक रुपमा कार्यान्वयनको अवस्था बुझ्ने क्रममा उनी बिहीबार बिहान कतार हुँदै नेपाल आईपुगेकी हुन् । फतिमाले आजै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्ने कार्यक्रम रहेको छ ।

नेपालमा एमसीसी परियोजना स्वीकार गर्ने कि नगर्ने भन्ने बहस भइरहेको बेला हुन लागेको यो भ्रमणलाई चासोका साथ हेरिएको छ । चारदिने नेपाल बसाइँको क्रममा उपाध्यक्ष सुमारले एमसीसी परियोजना कार्यान्वयनको अवस्थाबारे विभिन्न पक्षहरुसँग कुराकानी गर्ने स्रोतले बताएको छ । उनले प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मालगायत विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम छ । सन् २०१९ मा नै कार्यान्वयनमा आउनुपर्ने एमसीसी परियोजना नेपालमा राजनीतिक खिचातानीका कारण अझै अगाडि बढ्न सकेको छैन । हालै मात्र नेपाल स्पष्ट हुन खोजेका बुँदाहरुको जवाफ एमसीसीले पठाएको छ ।

प्रतिक्रिया