उपाध्यक्ष फातिमा भइनन् ढुक्क

admin

काठमाडौं, २६ भदौ : अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का उच्च अधिकारी नेपालको संसदबाट सम्झौता अनुमोदनका लागि उपयुक्त वातावण बनाउन दुई दिनदेखि लगातार सक्रिय भए पनि उनीहरूले सोचेअनुसारको वातावरण बनेको छैन ।

एमसीसी उपाध्यक्ष फातिमा सुमार नेतृत्वको टोलीले सो अनुमोदनका लागि राजनीतिक दौडधुप थाले पनि दलका नेताहरूबाट स्पष्ट जवाफ आउन नसक्दा उनीहरू आश्वस्त हुन सकेका छैनन् ।

नेपाल सरकारको प्रश्नको लिखित जवाफ दिएलगतै नेपाल भ्रमणमा आएकी उपाध्यक्ष फातिमाले दुई दिनदेखि नेताहरूसँग गम्भीर छलफल गरे पनि नेताहरू कार्यान्वयनका विषयमा भने मौन बसेका छन् । सत्तारूढ दल नेकपा माओवादी केन्द्र र समाजवादी पार्टी एमसीसी संशोधन नभई कार्यान्वयन नहुने अडानका रहिरहँदा एमसीसी उपाध्यक्ष फातिमाले संशोधन हुन नसक्ने जवाफ दिइसकेकाले कार्यान्वयनको विषय जटिल बनेको हो ।

एमाले अध्यक्ष ओलीबाट विश्वस्तता खोजेकी फातिमाले एमालेबाट विभाजित भई बनेको एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसँग भेट गरिन् । सिंहदरबारमा भएको भेटमा समाजवादीका अध्यक्ष नेपालले पार्टी र गठबन्धन छलफलमा रहेको प्रतिक्रिया दिएका थिए । त्यस्तै जनता समाजवादी पार्टीका अध्यक्ष तथा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईसँग उनीहरूबीच झन्डै ४५ मिनेट कुराकानी भएको थियो ।

त्यस क्रममा सुमारले सम्झौताका विवादित विषयबारे प्रस्ट पारेकी थिइन् । दुवै नेताले एमसीसीको विषयमा सकारात्मक जवाफ दिएका छन् । त्यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवासँग एमसीसी उपाध्यक्ष फातिमाको टोलीले बालुवाटार पुगेर भेट गरेका छन् । भेटमा प्रधानमन्त्री देउवाले एमसीसी कम्प्याक्ट र नेपालको आर्थिक रूपान्तरणका सम्भावनासहित नेपाल–अमेरिका सहयोगबारे छलफल भएको बताएका छन् ।

भेटमा कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र एमसीसीका सहउपाध्यक्ष जोनाथन ब्रक्सलगायत सहभागी थिए । फातिमा नेतृत्वको टोलीले शुक्रबार नै ऊर्जामन्त्री पम्फा भुषालसँग पनि भेट गरेको छ । टोलीले एमसीसीसँग एमसीसी कार्यान्वयनको विषयमा छलफल गरेका थिए । फातिमा नेतृत्वको टोली अझै दुई दिनसम्म नेपालमा रहनेछन् । यो समाचार राजधानी दैनिकमा छ ।

प्रतिक्रिया