विप्लवको चेतावनी: एमसीसीविरुद्ध झिल्को बालेका छौँ, राँको बाल्नुपर्ने अवस्था नआओस्

admin

काठमाडौं, २८ भदाै : नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले एमसीसी सम्झौता कुनै पनि हालतमा लागु हुन नदिने चेतावनी दिएका छन् ।

एमसीसीविरुद्ध सोमबार काठमाडौंको खुलामञ्चमा पार्टीले आयोजना गरेको सभालाई सम्बोधन गर्दै महासचिव चन्दले नेपालको राष्ट्रियता, स्वतन्त्रता, सार्वभौमिकता र नेपाली जनताको अधिकारको विरुद्धमा एमसीसी रहेको दाबी गरे ।

एमसीसीलाई स्वीकार गर्ने पक्षमा कुनै पनि नेपाली नरहेको उनको भनाइ छ । उनले ‘नेपाली भूमिमा अमेरिकाले सुरक्षा गर्ने प्रावधानसहित आएको सम्झौता पारित गर्न कसले सक्छ ?’ भनी प्रश्नसमेत गरे ।

“हामी कुनैपनि हालतले एमसीसीलाई लागु हुन दिँदैनौ । एमसीसी नेपालको राष्ट्रियताको विरुद्धमा छ । नेपालको सार्वभौमिकताको विरुद्धमा छ । नेपालको स्वतन्त्रताको विरुद्धमा छ । नेपाली जनताको अधिकारको विरुद्धमा छ ।

कुनै पनि देशले हाम्रो देशमाथि जबरजस्ती सन्धि लाद्न पाउँदैन,” विप्लवले भने । एमसीसी सम्झौताविरुद्ध आफूहरूले झिल्को बालेको उल्लेख गर्दै उनले त्यसलाई राँको बनाउनुपर्ने अवस्था आउन नदिन पनि सचेत गराए ।

प्रतिक्रिया