प्रतिगमनतिर जाने अवस्थाबाट देशलाई जोगाए, संविधान संशोधनका लागि सडकमा जानुपर्ने हुनसक्छ : दाहाल

admin

काठमाडौं, ३० भदौ : नेकपा माओवादी केन्द्रले संविधान संशोधनका लागि सडकमा जानुपर्ने अवस्था आउन सक्ने बताएको छ । पार्टीका तत्कालीन उपाध्यक्ष पोष्टबहादुर बोगटीको स्मृति दिवसमा पार्टी कार्यालय पेरिस डाँडामा आयोजित कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान बनाउने बेला नै आफूहरुले फरक मत राखेको बताएका छन् ।

राजनीतिक दलहरुबीच सहमति गरेर अघि बढ्न चाहेको भन्दै उनले जरुरी परे सडकमा जानसक्ने बताएका हुन् । दिवंगत नेता बोगटीलाई सम्झिँदै अध्यक्ष दाहालले अहिले माओवादीका माथिल्लो तहका नेताहरु बिग्रिएको स्वीकारसमेत गरे । तर, जनता र कार्यकर्ताहरु नबिग्रिएको र क्रान्तिकारी आन्दोलनका लागि तयार रहेको उनले बताए ।

दाहालले क्रान्तिकारी विरासत भएको माओवादी आन्दोलन र नेतृत्वले बाटो बिराएको पनि स्वीकार गरे । युद्धको बेला अप्ठेरो ठाउँमा जिम्मेवारी लिन हानथाप गर्ने पार्टी पंक्ति अहिले गुट बनाएर फाइदा लिन मात्र केन्द्रित भएको बताए । दाहालले देश देश झण्डै-झण्डै प्रतिगमन र प्रतिक्रान्तितिर जाने अवस्थाबाट देशलाई आफूहरुले जोगाएको जिकिरसमेत गरे ।

सम्बोधनको क्रममा उनले दिवंगत नेता बोगटीलाई पटकपटक स्मरण गरे । बोगटीले नेतृत्वको आलोचना गरे पनि मुख्य नेतृत्वलाई सहयोग गर्ने भावना कहिल्यै नभुलेको स्मरण गरे । उनी पार्टी एकताको प्रतिकको रुपमा भूमिका खेलेको पनि स्मरण गरे ।

प्रतिक्रिया