Home

नमूना मच्छिन्द्र मावि भवन उद्घाटन, सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारिनेछ : प्रधानमन्त्री देउवा

admin

काठमाडौं, ३० भदौ : प्रधानमन्त्री शेरबहादुर देउवाले सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर वृद्धि गर्न सरकारले विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको बताएक छन् । ललितपुरको नमूना मच्छिन्द्र मावि भवनको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर सुधार गर्न भविष्यमा थप कार्यक्रम गर्ने बताएका हुन् ।

सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण कम भएको भन्ने अवस्थामा पनि यस विद्यालयले उल्लेख्य विद्यार्थी पठनपाठन गरिरहेको सुन्न पाउँदा आफूलाई खुसी लागेको उनले बताए । सबैका लागि सहज पहुँच र गुणस्तरीय शिक्षा अभियानमा सरोकारवाला सबैलाई ध्यान केन्द्रित गर्न प्रधानमन्त्री देउवाले आग्रह गरेका छन् ।

साथै उनले विद्यालयको भौतिक सुधारपछि गुणस्तरीय शिक्षातर्फ सबैको ध्यान जानुपर्नेमा जोड दिए । वि.सं २०७२ बैशाखमा गएको भूकम्पबाट देशका धेरै शैक्षिक संरचनामा क्षति पुगेको अवस्थामा जापान सरकारको सहयोगमा आवश्यक पूर्वाधारसहित विद्यार्थीलाई पठनपाठन गराउने गरी भएको विद्यालयको पुनर्निर्माणप्रति उनले खुसी व्यक्त गरे ।

विद्यालयमा दृष्टिविहीन बालबालिकालाई पनि पढाउने व्यवस्था गरिएकामा त्यो काममा सहयोग गर्ने सबैलाई उनले धन्यवाद दिए । जापानको ऋण सहयोगमा १२ करोड तीन लाख रुपैयाँको लागतमा यो विद्यालय निर्माण गरेको हो । जाइकामार्फत नेपालका धेरै ठाउँमा शिक्षा, स्वास्थ्य, विपद् नियन्त्रणलगायत क्षेत्रमा निःस्वार्थ सहयोग गरेको भन्दै प्रधानमन्त्री देउवाले सरकारका तर्फबाट जापान सरकारलाई धन्यवाद दिए ।

प्राधिकरणअन्तर्गत भूकम्पबाट क्षति पुगेका ३२ जिल्लाका सात हजार पाँच सय ५३ विद्यालयमध्ये अहिलेसम्म ६ हजार ६ सय ४४ विद्यालयको पुनर्निर्माण भइसकेको छ । बाँकी पुनर्निर्माणका क्रममा छन् । यस्तै कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुुसालले भूकम्पबाट देशमा ठूलो जनधनको क्षति पुगेसँगै पुराना जीर्ण बनेका विद्यालयको पुनर्निर्माण गर्ने अवसर प्राप्त भएको उल्लेख गरिन् ।

अग्रजहरूले स्थापना गरेका विद्यालयका कारण नै ललितपुर शिक्षाको हबका रूपमा चिनिएको भन्दै उनले आउँदा दिनमा शिक्षाको गुणस्तर थप सुधार गर्न सबै लाग्नुपर्ने बताइन् । त्यस्तै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पले क्षति पुर्‍याएका भौतिक संरचनाको पुनर्निर्माणमा भएका प्रगतिबारे जानकारी गराउँदै सबैको सामूहिक प्रयासले मात्र यो सम्भव भएको हो भने ।

पुनर्निर्माणका क्रममा नागरिकले प्रत्यक्ष रूपमा विभिन्न लाभ प्राप्त गरेको बताउँदै उनले पुनर्निर्माणका क्रममा स्थानीय मौलिक प्रविधिको विकास र प्रयोगसमेत भएको जानकारी गराए । यसैगरी ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर सुधारको खाँचो औल्याउँदै निर्माण र पुनर्निर्माण भएका विद्यालयको मर्मत गरी दुरुस्त राख्न सरोकारवाला सबैको ध्यानाकर्षण गराए ।

प्रतिक्रिया