प्राधिकरणद्वारा पुनर्निर्माणका बाँकी कार्यहरु हस्तान्तरण सुरु

admin

काठमाडौं, ३० भदाै : राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माण गर्न बाँकी रहेका निजी आवासलगायतका संचनाहरुको पुनर्निर्माण सम्बन्धी बाँकी कार्यहरु सम्बन्धित निकायमा हस्तान्तरण गरेको छ ।

बुधबार सिंहदरबारस्थीत प्राधिकरणमा आयोजित एक कार्यक्रमकाबीच पुनर्निर्माण हुन बाँकी निजी आवास, बस्ती विकास, सरकारी एवं सार्वजनिक भवन, स्वास्थ्य संस्था, शैक्षिक संस्था, गुम्बाहरु तथा सडक एवं पुलहरुको कार्य हस्तान्तरण गरिएको हो । निजी आवास तथा बस्ती विकासतर्फका बाँकी कार्यहरु शहरी विकास मन्त्रालय अन्तर्गतको शहरी विकास तथा भवन निर्माण विभागलाई हस्तान्तरण गरिएको छ ।

पुनर्निर्माण गर्न बाँकी रहेका शैक्षिक संस्थाहरुको पुनर्निर्माण सम्बन्धी कार्यहरु शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र सो अन्तर्गतका तोकिएका जिल्ला स्थित कार्यालयहरुमा हस्तान्तरण गरिएको छ । त्यसैगरी, सडक तथा पुलहरु संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको स्थानीय पूर्वाधार विभागलाई हस्तान्तरण भएको छ ।

कार्यक्रममा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले हालसम्म पुननर्निर्माण गर्नुपर्ने कूल संरचनाहरुमध्ये मूलभूत रुपमा प्रायः सम्पूर्ण कार्यहरु सम्पन्न भएको र केहि सम्पन्न हुने चरणमा रहेको बताउनुभयो । उहाले पुनर्निर्माण गर्न बाँकी कामका साथै जनशक्ति लगाएतका दायित्वहरु पनि हस्तान्तरण भएको धारणा राख्नुभयो ।

गत भाद्र ९ गते प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको प्राधिकरणको निर्देशक समितिको २० औँ बैठकले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणद्वारा पुनर्निर्माण गर्न बाँकी रहेका कार्यहरु सम्बन्धित निकायहरुमा हस्तान्तरण गर्ने निर्णय गरेको थियो ।

पुनर्निर्माण गर्न बाँकी रहेका कार्यहरु हस्तान्तरण भए पनि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण भने आगामी पुस १० गतेसम्म क्रियाशील रहनेछ । यसबीचमा प्राधिकरणले धरहरा, रानीपोखरी, सिंहदरबार एवं नारायणहिटी दरबार संग्रहालय परिसरमा रहेको रणोद्दीप दरबारको पुनर्निर्माणको कार्य हेर्ने बताइएको छ ।

प्रतिक्रिया