परिवर्तित सन्दर्भको एमाले हो, १० बुँदे सहमति कार्यान्वयन गर्नबाट पछि हट्दैनौ : ईश्वर पोखरेल

admin

काठमाडौं, ३१ भदौ : नेकपा एमालेका महासचिव ईश्वर पोखरेल ले १० बुँदे सम्झौता पार्टीले स्वीकार गरिसकेको भन्दै त्यसको लागु गर्ने कुरामा किञ्चित् पछि नहट्ने बताएका छन् । बिहीबार नेकपा एमाले काठमाडौं जिल्लाका कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले यस्तो कुरा बताएका हुन् । उनले एमालेको संगठनात्मक संरचनालाई जेठ २ मा पुर्‍याउनु भनेको राजनीतिक सेन्समा बुझ्नुपर्ने पनि बताए ।

‘आजको एमाले विकसित र एकता प्रक्रियासहितको एमाले भनेर बुझ्न जरुरी छ । परिवर्तित सन्दर्भको एमाले हो । यसलाई पन्छाएर एमालेको मात्रै कुरा गरियो भने अधुरो हुन्छ’, पोखरेलको भनाइ छ । उनले सत्ता गठबन्धनले मुलुकको विकास र सम्बृद्धिलाई अवरोध बनाउन खोजेको भन्दै यस्तो अवस्थामा केपी ओली नेतृत्वको नेकपा एमालेले राष्ट्रिय राजनीति मुल धारका रुपमा रहेको बताए ।

उनले एमाले संविधान र विधिलाई मान्ने भएकाले २०७९ बैशाख १० भित्र दशौं राष्ट्रिय महाधिवेशन गर्नुपर्ने भएकाले त्यो मान्यतामा अघि बढेको बताए । ‘हामीले यो बोर्डरलाईन उल्लंघन गर्नुहुँदैन, राष्ट्रिय महाधिवेशन गर्न विधान महाधिवेशन गर्नुपर्छ ।’ एमालेले असोज १५ देखि १७ मा विधान महाधिवेशन गर्ने यसअघि नै घोषणा गरिसकेको छ उक्त महाधिवेशनमा राजनीतिक, सांगठनिक र विधान संशोधन प्रस्तावलाई पारित गर्नेछ ।

 

 

यस्तै महासचिव पोखरेलले अबको एमाले राष्ट्रिय हित र जनताका मुद्दामा परिचालन हुनुपर्ने बताउँदै त्यसका लागि उनले नेता कार्यकर्तालाई जनपरिचालनका रुपमा परिचालनको नीति अघि बढाइने बताएका छन् । सोही कार्यक्रमलाई सम्बोधन गर्दै एमालेको जनतासँग जोडिनका लागि जनपरिचालन गर्न जरुरी रहेको बताए ।

‘अनिमात्र एमालेलाई एमाले जस्तै बनाउन सकिन्छ । एमाले कागजको फूलजस्तो होइन, बासना दिने फुलजस्तै बनाउनुपर्छ । जनतासँगको सम्बन्ध टुट्यो भने, नाम झण्डा रहला तर परिवर्तनको बाहक एमाले हुँदैन’, महासचिव पोखरेलको भनाइ छ । महासचिव पोखरेलले समाजवादको आधार तयार गर्ने कुरामा सुदृढ र व्यवस्थित एमाले बनाउन ध्यान दिनुपर्ने एमाले अहिले जोखिम र संगीनपूर्ण अवस्थामा रहेको बताए । ‘जनतासँगको सम्बन्ध सुदृढ गर्दै समाजवादको आधार तय गर्नुपर्नेछ’, पोखरेलको भनाइ छ ।

नेता कार्यकर्तामा धेरै समस्या रहेको भन्दै उनले कार्यकर्तामा अध्ययन र प्रशिक्षणको पनि कमि भएको स्वीकार गरे । ‘हामीमा समस्या छन्, अध्ययन र प्रशिक्षणको कमी छ । पार्टीका दस्तावेज, अन्तरपार्टी निर्देशन पढ्दैनौ, सामाजिक सञ्जालमा भुलिएका छौ त्यसैले अव अध्ययन र प्रशिक्षणमा ध्यान दिनुपर्नेछ’, पोखरेलले भने, ‘पार्टी बनाउन संकल्प र अठोट चाहिन्छ ।’ उनले अव बन्ने नेकपा एमाले विचारको स्पष्टता,राज्यको संरचनासँग मिल्दोजुल्दो पार्टी संरचना, सकारात्मक सोच, र विधिसम्मत पार्टी सञ्चालनको हुने बताए ।

प्रतिक्रिया