महाधिवेशनमा कांग्रेस : तीन गुट, गुटभित्रै फुट

admin

काठमाडौं, १ असाेज : ​सत्ताको प्रमुख बागडोर सम्हालेको दल नेपाली कांग्रेस महाधिवेशनमा होमिइसकेको छ । गत १८ भदौबाट कांग्रेसलाई महाधिवेशन लागेको हो । अहिले कांग्रेसका वडा तहदेखि जिल्ला हुँदै प्रदेश र केन्द्रसम्मको नेतृत्वमा स्थापित हुन शक्ति संघर्षसहित उम्मेदवार मैदानमा उत्रिँदै छन् ।

कांग्रेसमा १३औं महाधिवेशनपछि स्थापित तीन गुट छन् । पहिलो गुटको नेतृत्व पार्टी सभापति शेरबहादुर देउवाले गरिरहेका छन् । उनको गुटलाई कांग्रेसमा संस्थापन समूह मानिन्छ ।

अर्को गुटको नेतृत्व वरिष्ठ नेता रामचन्द्र पौडेलले गरिरहेका छन् । उनी गत १३औं महाधिवेशनमा देउवासँग सभापतिमा पराजित भएपछि त्यसअघिको कोइराला गुटलाई आफ्नो थरबाट चिनाउन सफल भएका छन् ।

त्यसबाहेक कांग्रेसमा अर्को गुटको नेतृत्व कृष्णप्रसाद सिटौलाले गरिरहेका छन् । यो गुट पनि १३औं महाधिवेशनपछि नै संस्थागत भएको हो । सिटौलासमेत पहिलो चरणमा देउवासँगै महाधिवेशनमा भिडेका थिए । त्यसपछि दोस्रो चरणको निर्वाचनमा उनै देउवालाई सघाएर उनी तेस्रो धारको नेतृत्व गर्दै आइरहेका छन् ।

तर १३औं महाधिवेशन भएको पाँच वर्ष पूरा भएर १४औं महाधिवेशनमा होमिँदै गर्दा भने कांग्रेसभित्रको संस्थागत गुट नै फुटको सँघारमा पुगिसकेको छ । केही नेताहरूले भने धमाधम धार फेर्न थालिसकेका छन् । यो खबर आजको राजधानी दैनिकमा छापिएको छ

प्रतिक्रिया