नेपालका मान्छेहरु अमेरिका भन्दा अघि बढेर अमेरिकाको प्रवत्ता भएको देख्दा अचम्म लाग्छ : डा. भीम रावल

admin

काठमाडौं, १४ असोज : प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का उपाध्यक्ष डा. भीमबहादुर रावलले पार्टीको आन्तरिक एकताको लागि भएको दश बुँदे सहमति कार्यान्वयन भैसकेको बताएका छन् । केही ठाउँमा समस्या भएपनि त्यसलाई आपसी सहमतिको आधारमा टुँगो लगाउने उनको भनाई छ । उनले मंगलबार बसेको कार्यदलको बैठकमा सुदूरपश्चिम प्रदेशको ईन्चार्ज को हो ? भनेर छलफल नै नभएको पनि जिकिर गरे ।

बुधबार नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवासँग आफ्नो व्यक्तिगत सम्बन्ध राम्रै रहेको सुनाए । देउवाले राम्रो काम गरे आफूले प्रशंसा गर्ने र नराम्रो काम गरे सधैं आलोचना गर्ने पनि उनले स्पष्ट पारे । प्रस्तुत छ डा. रावलसँगको कुराकानीको सम्पादित अंश :-

नेकपा (एमाले)मा दश बुँदे सहमति कार्यान्वयन भएको हो ? विवादहरु मिलेका हुन् ?

दश बुँदेको कार्यान्वयन गर्ने भनेर केन्द्रीय कमिटीबाट निर्णय भई अन्तरपार्टी निर्देशन जारी भइसकेको हो । त्यो अन्तरपार्टी निर्देशन जारी भएर तदअनुरुपमा अगाडी बढेको हो । तर, कतिपय ठाउँमा समस्या भएको हुनाले त्यसलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नको लागि जुन कार्यदल गठन भएको थियो । त्यसको बैठक बसेको थियो । त्यो बैठकबाट जहाँ-जहाँ समस्या छन्, ती समस्यालाई १० बुँदे सहमति र अन्तरपार्टी निर्देशनबमोजिम समाधान गर्ने भन्ने कुरा भएको छ । मलाई आशा छ, ती समस्या समाधान हुनेछ ।

हिजो लेखराज भट्टले सुदुरपश्चिमको इन्चार्ज भीम रावल होइन, म हो भन्नुभयो । तपाईँहरुले नेकपा (एमाले) जेठ २ मा फर्किनेगरि सम्झौता गर्नुभएको हो, तर त्यो कार्यान्वयन भएन नी ?

सुदुरपश्चिममा दश बुँदे सहमतिलाई कार्यान्वयन गर्ने सन्दर्भमा समस्या उत्पन्न भएको कुरा साँचो हो । तर, को व्यक्ति इन्चार्ज ? को व्यक्ति ? प्रदेश समन्वयन कमिटीको संयोजक को ? के पदमा जिम्मेवार भन्ने विषय मिल्दैन । कुरा के हो भने हाम्रो पार्टीमा जुन असहज र असामान्य स्थिति उत्पन्न भयो, त्यसलाई समाधान गर्नको लागि दश बुँदे सहमति भएर पार्टी अध्यक्ष स्वयम, केन्द्रीय कमिटी र अरु सम्पूर्ण नेताहरुले सहमति जनाएर कार्यान्वयन गर्ने वचनबद्धता व्यक्त गर्नुभयो ।

त्यसको कार्यान्वयन हुनुपर्छ भन्ने विषय हो । हामी कुन व्यक्तिलाई कुन जिम्मेवारी हुन्छ भन्ने कुरामा गैरहेका छैनौं । हामी के कुरामा गैरहेका छौं भने नीति, निर्णय, विधि, पद्धती र प्रणालीअनुरुप जानुपर्छ भन्ने कुरामा हामी जोड दिइरहेकाछौं । बिगतमा नेकपा हुँदाखेरि नीति, निर्णय, विधि, पद्धती र प्रणालीअनुरुप पार्टी अगाडि नबढ्दा यस्तो स्थिति आएको हो । अब त्यो स्थितिको पुनरावृत्ति हुनुहुँदैन भन्ने मेरो धारणा हो । को व्यक्ती ? को पदमा छ भन्ने कुरा गौण हो ।

तर, हिजोको बैठकमा को इन्चार्ज भन्ने विषयमा विवाद भयो नि, होइन ?

होइन, हिजो हामीले यो विषयमा छलफलनै गरेनौं । हामीले के कुरामा छलफल गर्यौं भने हामीले जुन दश बुँदे सहमति गरेका छौं, यसको अक्षर र भावनाअनुरुप कार्यान्वयन हुनुपर्छ, देखिएका समस्यालाई समाधान गर्नुपर्छ । त्यसैगरि यही असोज १५ गतेदेखी हुने यो बिधान महाधिवेशन छ, त्यो विधान महाधिवेशनमा प्रतिनिधित्व, दश बुंदे सहमतिअनुकुल सबै जिल्लाबाट हुनपर्छ भन्ने कुरामा हामीले छलफल गरेका हौं ।

खासगरि सुदुरपश्चिम र अन्य केही जिल्लामा जुन समस्या देखिएको छ, त्यहाँबाट प्रतिनिधित्वको सम्बन्धमा कुनैपनि अन्याय र असमानता नहुनेगरि प्रतिनिधित्व हुनुपर्छ भन्ने हामीले निश्कर्ष निकालेका छौं । तर, को व्यक्ति इन्चार्ज भयो भन्ने विषयमा हामीले छलफल नै गरेका छैनौं । त्यो कुरा दश बुँदेमै स्पष्ट रहेको छ । कसैले भनेर त्यो मेटिने होइन ।

दश बुँदे कार्यान्वयन हुन्छ भन्नेमा तपाईं ढुक्क हुनुहुन्छ ?

कार्यान्वयन भएन भने नेकपा (एमाले) फेरि संकटग्रस्त हुन्छ । हामीले विगतमा नीति, विधि, पद्धती र प्रणाली जहाँ मिचियो त्यसका परीणाम आज कति गम्भीर छन् । आज तपाईंहरुले सुनिरहनुभएको छ, सरकारले अहिलेसम्म मन्त्रिपरिषद गठन गर्न सकेको छैन्, एमसीसीको विषयमा आज मान्छेहरु के प्रचार गर्दैछन् भने जसरी महाकाली सन्धि गर्दाखेरि त्यो कथित संकल्प प्रस्ताव पारित भएको आज कति वर्ष भयो ? २५ वर्ष हुन् लाग्यो ।

त्यसको दुर्दशा भएको छ, आज नेपाललाई कति घाटा भएको छ ? आज संकल्प प्रस्ताव पारित गर्दा त्यो केहीपनि हुँदैन, यो हिन्द-प्रशान्त महासागरको अंग हुँदै होइन भन्ने जस्ता प्रायोजित हल्लाहरु फैलिरहेका छन् । तर, सरकार मौन छ ।

परराष्ट्रमन्त्री डा. नारायण खड्काले अमेरिकामा गएर बोलिसक्नुभयो, एमसीसी संसद्बाट बिना संशोधन पारित हुन्छ भन्नुभएको छ, यस विषयमा तपाइईँ के भन्नुहुन्छ ?

मलाई आश्चर्य के लाग्छ भने, नेपालका मान्छेहरु अमेरिका भन्दा अघि बढेर अमेरिकाको प्रवत्ता भएको देख्दा अचम्म लाग्छ । यो राष्ट्रलाई कहाँ पुर्याउन खोजिएको हो ? हामी नेपालका नेताहरु नेपालको स्वाधिनता, स्वतन्त्रता, अखण्डता, स्वाभिमान र यो राष्ट्रको अस्तित्वको रक्षाको लागि बनेका हौं की कसैको दलाली र कसैको चाकरी गर्न बनेका हौं ? यो सुन्दा आश्चर्य लाग्छ अनि दुःख पनि पनि लाग्छ । देशभक्त नेताहरुले यो कुरा बुझ्नुपर्छ । यो नेकपा एमालेको आन्तरिक विवादको प्रसंगमा किन निकालेको हो भने, जब राष्ट्र यस्तो अवस्थामा छ ।

तपाईं अध्यादेश हेर्नुहोस, पहिला पनि हामीले त्यसको विरुद्धमा बोलेका थियौं । दल विभाजनसम्बन्धी अध्यादेशलाई २० प्रतिशतमा झारेर दुईवटा पार्टीलाई विभाजन गरिसकेपछि हाम्रो उद्देश्य पुरा भयो हामी खारेज गछौं भन्ने ? यो जस्तो फोहोरी खेल, देश र जनताप्रति अनुत्तरदायी के हुनसक्छ ? यस्तो स्थितिमा फेरि नेकपा (एमाले) लाई विधि र पद्धती मिच्ने, भएका सहमतिहरु कार्यान्वयन नगर्ने, फेरी पार्टीभित्र गुटबन्धी गर्ने, तेरो वा मेरो हिसाबले काम गर्ने, अनि पार्टीमा कसले कति योगदान गर्यो भनेर नहेर्ने कुरा राम्रो होइन् ।

तपाईहरुले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुभयो, उहाँले अध्यादेशबाट शासन चलाउछु भनेर भनिरहनुभएको छ । अब तपाईं पार्टीको लाइनमा जानुहुन्छ की प्रधानमन्त्री देउवालाई साथ दिनुहुन्छ ?

जुनबेला प्रतिनिधिसभा विघटन भयो, त्यसपछि हामीले नेपालको संबिधानमा के कुराको परिकल्पना गर्यौं भने सांसद अपहरण गर्ने, रिसोर्टमा लग्ने, भ्रष्टाचार गर्नेजस्ता कुराबाट देश थिलोथिलो भयो । त्यसलाई समाप्त गर्नको लागि अब हामी प्रतिनिधिसभालाई बिघटन गर्न नसक्नेगरि र विकल्प हुँदासम्म सरकार बनाउनेगरि सबैजना सहमत भयौं । तर, पछि प्रतिनिधिसभाको विघटनले गर्दा हामीले सोचेको कुरा विखण्डित हुने अवस्था आएर संविधानको त्यो भावनालाई रक्षा गरौं भनेर हामीले त्यो पाइला चालेका हौं ।

तर, त्यसको अर्थ अहिलेको सरकारले जसरी काम गरिरहेको छ, यस्तै कुशासन र व्यक्तिगत स्वार्थ अब मन्त्रिपरिषद् विस्तार गर्दा हेर्नुहोला कस्ता-कस्ता अनुहारहरु आउँछन् । कस्ता–कस्ता कुकृत्य गरेका मान्छेहरु आउँछन् हेर्दै जानुहोला । यो स्थिति ल्याउनको लागि हामीले हस्ताक्षर गरेका थिएनौं । राज्यको नेतृत्व गर्ने, सरकारको नेतृत्व गर्ने, नेताहरु हौं भन्ने, देश हाँक्छु भन्ने मान्छेले सत्ता र स्वार्थको लागि यस्तै कुकर्म गर्ने गरेपछि हामीले बाहिर बसेर आलोचना गरेर जनतालाई सजक पार्नेबाहेक अरु के गर्न सकिन्छ र ?

अहिले देशमा निर्वाचन आवश्यक छ त ?

निर्वाचन आवश्यक छ अथवा छैन् भन्ने कुरा होइन्, निर्वाचन लोकतन्त्रमा आवश्यक हुन्छ । तर, हामीले संविधान निर्माण गर्यौं । संविधान निर्माण गरिसकेपछि पहिलो निर्वाचण भयो । हामीले झण्डै दुईतिहाई मत ल्यायौं । यस्तो स्थितिमा पनि हामी त्यो राजनीतिक प्रणालीलाई अगाडि बढाउन सक्दैनौं, प्रतिनिधिसभाले जनतालाई विश्वास दिलाउन सक्दैन्, आफ्नो कर्तब्य पालन गर्न सक्दैन्, देश र जनताको लागि काम गर्न सक्दैन् ।

उही पुरानो परिपाटी अझ त्योभन्दा खराब, अहिले हेर्नुहोस त कालो धनलाई लगानी गर्न पाइने, यो कुनै जनताको लागि सोच्ने व्यक्तिले गर्ने काम हो रु कार्यकर्तालाई बिना ठेक्का १० करोड बाँड्न पाउने । अनि हामीले देशलाई कता लग्दैछौं ?

अरबौं रुपैयाँ लगानी गर्ने अनि स्रोत देखाउन नपर्ने भयो नि अब, होईन ?

यो नीतिबाट के कुरा प्रष्ट हुन्छ भने-केही मानिसहरुले विगतमा कालो धन थुपारेका छन् । अब त्यो धन अमुक व्यापारीहरुमार्फत फलानो ठाउँमा लगानी गरेपछि देखाउन नपर्ने भनेर राजनीतिको टुप्पोमा बस्नेहरुले धन्दा गर्दैछन् ।

त्यसोभए शेरबहादुर देउवा र तपाईंको सम्बन्ध टुटेको हो ?

होइन, कुन व्यक्तिसँग व्यक्तिगत सम्बन्ध राम्रो छ भन्ने कुरै होइन् नी । यो त राजनीतिक कुरा हो । उहाँले राम्रो काम गर्नुभयो भने म प्रशंसा गर्छु । तर, उहाँले गरेको काम देश र जनताको हितमा भएन र राम्रो काम गर्नुभएन भने विरोध गर्नु स्वभाविक हो ।

जाँदाजाँदै सुदूरपश्चिम प्रदेशको एमालेको इन्चार्ज तपाईंकी लेखराज भट्ट ?

म तपाईंलाई यथार्थ कुरा भन्छु । जुनबेला नेकपा (एमाले) को सुदुरपश्चिम प्रदेश कमिटी थियो । त्यो बेलाको म संयोजक हो । त्यसपछि जब पार्टी एकिकरण भयो, एकीकरण भइसकेपछिको म इन्चार्ज हो । अहिले हाम्रो दश बुँदे सहमतिमा के लेखिएको छ भने-नेकपा (एमाले) २०७५ साल जेठ २ गते अगाडि जान्छ भनेको छ । जेठ २ अगाडिको कुरा गर्ने हो भने म त्यहाँको इन्चार्ज हो ।

तर, म के ठान्दैन भने यहाँ कुन व्यक्ति के हुन्छ ? भन्ने कुरा भन्दापनि त्यो दश बुँदेमा यसैपनि संकट आइसकेको छ, विभाजनको स्थिति आएको छ, देशको राजनीति यस्तो छ । यस्तो बेला मेरो जोड के कुरामा छ भने विधिबाट चलौं र नीति, पद्धती र प्रणालीबाट चलौं र भएका सहमतिबाट चलौं । अबपनि त्यहाँ आफूलाई जे मन लाग्यो, म यो हो भनेर घोषणा गर्दै हिड्ने हो भने जसले जे घोषणा गरेपनि भयो त्यसको के मतलब भयो र ।

प्रतिक्रिया