पार्टीभित्र मूल्याङ्कनको समय आयोः वरिष्ठ नेता पोडेल

admin

चितवन, १६ कात्तिक : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्र मूल्याङ्कनको समय आएको बताउनुभएको छ ।

नेपाली कांग्रेस रत्ननगर नगरपालिका–१३ को कार्यालय उद्घाटन, सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रममा आज उहाँले पार्टीको १४ औँ महाधिवेशन नेताको मूल्याङ्कनको समय रहेको बताउनुभएको हो ।

उहाँले भन्नुभयो, “पार्टीका लागि कस्ले के ग¥यो भन्ने विषयमा मूल्याङ्कन १४ औँ महाधिवेशनले गर्नेछ ।” कार्यकर्तालाई दुविधामा राख्ने र ढाकछोप गर्ने गर्दा पार्टी बिग्रिएको उहाँको भनाइ थियो । “अहिले पार्टी कहाँ पुग्यो मूल्याङ्कन गरेर नेतृत्व चयन गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

वरिष्ठ नेता पौडेलले कांग्रेसलाई सुधार गरेर लैजानका लागि महाधिवेशनमा कार्यकर्ताले मूल्याङ्कन र विवेक पु¥याउनुपर्नेमा जोड दिनुभयो । अब पार्टी बनाउनका लागि निष्ठा र नैतिकताको राजनीति गर्नुपर्ने उहाँको भनाइ थियो ।

वरिष्ठ नेता पौडेलले पार्टीका नेता तथा कार्यकर्ताको आचरण र सिद्धान्तका आधारमा आम जनताले हैसियतमा राख्ने गरेको भन्दै कांग्रेसका नेता कार्यकर्ता नैतिकवान बन्नुपर्ने बताउनुभयो । पार्टीलाई रुपान्तरण गर्दै लैजानुपर्ने समय आएको भन्दै उहाँले भन्नुभयो, “पार्टीभित्र रुपान्तरणको आवश्यकता छ ।

कांग्रेस उज्यालो अनुहार लिएर अघि बढ्नुपर्छ ।” कांग्रेसभित्र सुदृढ एकताको आवश्यकता रहेको भन्दै उहाँले न्याय र मूल्याङ्कनको आधारमा सँगै एजेण्डामा एकता हुन जरुरी रहेको बताउनुभयो ।

वरिष्ठ नेता पौडेलले पछिल्लो समयमा लोकतान्त्रिक संस्था कमजोर बनाउने काम भएको बताउँदै संवैधानिक परिषद्को ऐन र सेटिङका कारण अदालतजस्तो संस्था ढल्ने अवस्थामा पुगेकाले अब आँखा चिम्लेर बस्ने समय नरहेको उल्लेख गर्नुभयो ।

फरक प्रसङ्गमा वरिष्ठ नेता पौडेलले नेपालमा कम्युनिष्टका कारण समस्या आएको बताउनुभयो । पाँच वर्ष शासन चलाउ भनेर जनताले अनुमोदित गर्दा पनि नसक्नेले देश चलाउछु भन्नु हास्यास्पद रहेको उहाँको भनाइ थियो ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बद्री पाण्डेले पार्टीका सबै संरचना चलायमान बन्न नसक्दा कांग्रेस कमजोर भएको बताउनुभयो । उहाँले भन्नुभयो, “कांग्रेस कमजोर भएको छैन । सुध्रिने र सही बाटोमा हिँड्छ की हिँड्दैन कार्यकर्ताले हेरिरहेका छन् ।”

नेता पाण्डेले कम्युनिष्ट पार्टीहरु देशको समस्याको रुपमा रहेको भन्दै सभ्य राष्ट्र निर्माण र देशको समुन्नत विकासका लागि कांग्रेस आवश्यक रहेको बताउनुभयो । १४ औँ महाधिवेशनबाट कांग्रेस सैद्धान्तिक, राजनीतिक र नैतिकताको बाटोमा हिँड्ने उहाँको भनाइ थियो ।

वडासभापति टोमराज भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, पूर्वशिक्षा राज्यमन्त्री शेषनाथ अधिकारी, नेपाली कांग्रेस क्षेत्रीय सभापति राजु सिलवाल, नेपाली कांग्रेस रत्ननगर नगर सभापति प्रह्लाद सापकोटा, कार्यक्रम संयोजक भेषराज दुवाडी, वडा उपसभापति धर्म अधिकारीलगायतले बोल्नुभएको थियो । रासस

प्रतिक्रिया