दुई लाख ९१ हजारसहित १८ जना जुवाडे पक्राउ

admin

चितवन, २३ कात्तिक: जिल्ला प्रहरी कार्यालयले चाडपर्वका समयमा जुवा खेल्ने १८ जनालाई रु दुई लाख ९१ हजार ६०५ सहित पक्राउ गरेको छ ।

कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार जिल्लाका विभिन्न स्थानमा दसैँदेखि तिहारसम्मका अवधिमा जुवा खेलेका उनीहरुलाई पक्राउ गरिएको हो ।

उहाँका अनुसार असोज २८ गते खैरहनी नगरपालिका–९ मगनीबाट लुडो खेलेको अवस्थामा रु ९९ हजार ३२० सहित पाँच जना, कात्तिक १५ गते भरतपुर महानगरपालिका–४ यज्ञपुरीस्थित कटेजमा तास खेलेको अवस्थामा दुई जनालाई पक्राउ गरेको छ । उनीहरुबाट नगद रु १६ हजार १५ बरामद भएको उहाँले जानकारी दिनुभयो ।

यस्तै कात्तिक १६ गते भरतपुर महानगरपालिका–६ चोकबजारबाट कौडा खेलिरहेको अवस्थामा आठ जनालाई पक्राउ गरेको छ । उनीहरुको साथबाट रु ५३ हजार ७० बरामद गरिएको थापाले बताउनुभयो । यस्तै कात्तिक २० गते भाइटीकाको दिन कौडा खेलिरहेको अवस्थामा राप्ती नगरपालिका–८ बाट तीन जनालाई पक्राउ गरिएको हो । उनीहरुको साथबाट रु एक लाख २३ हजार २०० बरामद भएको थियो ।

प्रवक्ता थापाका अनुसार पक्राउ परेका उनीहरुको साथबाट ३२ वटा कौडा, चौकोष दुई थान, तास एक बुक, लुडो बोर्डसमेत बरामद गरिएको छ । पक्राउ परेका उनीहरुलाई अपराध संहिता ऐनअन्तर्गत जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने कसुरमा कारबाही गरिएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया