माओवादीको राष्ट्रिय सम्मेलन काठमाडौँमा हुने

admin

काठमाडौँ, कात्तिक २३ : नेकपा (माओवादी केन्द्र)ले पाँच दलीय समन्वय समितिमा पार्टीका तर्फबाट प्रतिनिधित्व गर्ने नाम टुङ्गो लगाएको छ ।

पार्टी मुख्यालय पेरिसडाँडामा आज बसेको स्थायी समिति बैठकले समितिमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठले प्रतिनिधित्व गर्ने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो ।

सत्ता गठबन्धनमा आबद्ध पाँच दलको सोमबार बसेको बैठकले सरकार सञ्चालनमा सहजीकरण गर्ने उद्देश्यले ११ सदस्यीय समन्वय समिति गठन गर्ने निर्णय गरेको थियो । सो समितिमा नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबाट दुईदुई जनाले प्रतिनिधित्व गर्ने सहमति भएको थियो ।

यसैगरी बैठकले पार्टीको आसन्न राष्ट्रिय सम्मेलन आगामी पुस ११ देखि १३ सम्म काठमाडौँमा आयोजना गर्ने निर्णय गरेको छ । सम्मेलनको तयारीस्वरुप पार्टीले साङ्गठनिक कामलाई तीव्रता दिएको छ ।

बैठकले अमेरिकी सहयोग परियोजना (एमसीसी) परिमार्जनसहित राष्ट्रिय सहमतिका आधारमा मात्र अगाडि बढाउने निर्णय गरेको छ । एमसीसीका विषयमा बाहिर जुन विषय सार्वजनिक भएको छ, हाम्रो पार्टी एमसिसीका विषयमा राष्ट्रिय सहमति कायम नभइकन, सम्झौताका केही बुँदा संशोधन र परिमार्जन नभइकन अगाडि नबढाउने कुरा भएको छ, बैठकको निर्णयबारे जानकारी दिँदै प्रवक्ता महराले भन्नुभयो ।

आजको बैठक साङ्गठिन विषयमा केन्द्रित भएको प्रवक्ता महराले जानकारी दिनुभयो । प्रदेश पदाधिकारीको टुङ्गो लगाउने विषयमा पनि बैठकमा छलफल भएको छ । बैठकले सम्बन्धित प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय समितिका सदस्यसँग परामर्श गरेर पदाधिकारी टुङ्ग्याउने निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया