हिंसा र दुर्व्यवहार महासन्धि अनुमोदन गर्न माग

admin

काठमाडौँ, कात्तिक २३ :  अन्तर्राष्ट्रिय श्रम सङ्गठनको हिंसा र दुव्र्यवहार महासन्धि १९० अनुमोदन गरिनुपर्नेमा जोड दिइएको छ । संयुक्त राष्ट्र सङ्घले सन् २०१९ मा जारी गरेको यो महासन्धि अहिलेसम्म विश्वका नौ देशले अनुमोदन गरिसकेका छन् ।

महिला, कानून र विकास मञ्चले मंगलबार काठमाडौंमा आयोजना गरेको छलफल कार्यक्रममा प्रतिनिधि सभा सांसद विन्दा पाण्डेले नेपालमा हिंसा र दुर्व्यवहारलाई सम्बोधन गर्ने एक दर्जन कानून भए पनि महासन्धि अनुमोदन गरेपछि छाता कानूनका रुपमा एकीकृत ढङ्गले विषयको सम्बोधन गर्न सकिने बताउनुभयो ।

लैङ्गिक हिंसाका लागि सङ्घीय सांसद भन्ने समूह बनाएर काम भइरहेको उल्लेख गर्दै सांसद पाण्डेले बागमती प्रदेश सरकारले हालै लैङ्गिक दुर्व्यवहारसम्बन्धी फ्लेक्स सबै सार्वजनिक कार्यालयमा राख्ने व्यवस्था गरेको धारणा राख्नुभयो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको मानव अधिकार र कानुन महाशाखाका उपसचिव श्रद्धा रिजालले नेपाल महासन्धिको पक्ष राष्ट्र बन्दाको दायित्व अध्ययन गरेर अनुमोदन गर्ने विषयमा काम अघि बढेको बताउनुभयो ।

मञ्चका कार्यकारी निर्देशक सविन श्रेष्ठले महासन्धिले हिंसा र दुर्व्यवहार अन्त्य गर्ने ग्यारेण्टी गरेको उल्लेख गर्नुभयो । महासन्धि अनुमोदन गराउने माग गर्न यस विषयमा कार्यरत सङ्घ संस्थाले राष्ट्रिय गठबन्धन निर्माण गर्न लागेको मञ्चले जनाएको छ ।

प्रतिक्रिया