किसानलाई अनुदानमा आलुको बीउ

admin

दमौली, २४ कात्तिक : तनहुँको व्यास नगरपालिकाले कृषकलाई अनुदानमा आलुको बीउ वितरण गर्ने भएको छ । नगरपालिकालाई आलुमा आत्मनिर्भर गराउने ध्येयले बीउ वितरण गर्न लागिएको हो ।

कृषकको मागअनुसार आलुको बीउ तत्काल खरिद गरी ५० प्रतिशत अनुदानमा उपलब्ध गराउन सम्बन्धित शाखालाई निर्देशन दिने निर्णय भएको नगर प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो । नगर कार्यपालिकाको मङ्गलबार बसेको बैठकले आलुको बीउ वितरण गर्ने निर्णय गरेको हो ।

नगरपालिकाले गत वर्ष जिल्लाका विभिन्न कृषक समूहलाई साढे नौ टन आलुको बीउ वितरण गरेको थियो । नगरपालिकामा करिब ६०० रोपनी क्षेत्रफलमा आलुखेती हुने गरेको छ । आलुमा अनुदान दिन थालिएपछि यहाँका कृषक यसतर्फ आकर्षित हुँदै गइरहेका छन् ।

कार्यपालिका बैठकले जलस्रोत कार्यविधि २०७८ पारित गरी नगरप्रमुखको अध्यक्षतामा जलस्रोत समिति गठन गरेको छ । नगरपालिकाअन्तर्गतका सामुदायिक विद्यालयका विद्यार्थीको स्वास्थ्य परीक्षण गर्न आवश्यक व्यवस्थाका लागि स्वास्थ्य तथा जनसङ्ख्या शाखालाई निर्देशन दिने निर्णय भएको छ ।

विगत तीन वर्षको व्यवसाय कर उठाउन बाँकी देखिएकाले आगामी पुस मसान्तभित्र व्यवसाय कर बुझाउने व्यवसायीको आब २०७६÷७७ को व्यवसाय कर छुट दिने निर्णय भएको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया