बाजुराका सात पालिकामा औषधि अभाव

admin

मार्तडी, २४ कात्तिक : बेमौसमी वर्षाका कारण सडक अवरुद्ध भएपछि बाजुराका सात पालिकामा औषधि अभाव भएको छ । यहाँका पूर्वी उत्तरी भेगका चार र तल्लो क्षेत्रका दुई पालिकामा औषधि अभाव भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार जिल्ला अस्पतालमा ७०, प्राथमिक स्वास्थ्य केन्द्रमा ५८ र स्वास्थ्यचौकीमा ४० प्रकारका औषधि निः शुल्क वितरण हुनुपर्छ तर यहाँका पालिकाकाका स्वास्थ्य संस्थामा ४० प्रकारको औषधि भएको पाइँदैन ।

हिमाली, स्वामीकार्तिक खापर, जगन्नाथ गाउँपालिका र बुढीनन्दा नगरपालिकाका स्वास्थ्य संस्थामा औषधि अभाव भएको हो । यस्तै खप्तड छेडेदह गाउँपालिका र बडीमालिका र त्रिवेणी नगरपालिकामा पनि औषधि पर्याप्त नभएको जनाइएको छ ।

अवरुद्ध सडक सुचारु नहुँदा पालिकाहरुमा औषधि अभाव अएको हिमाली–१ विच्छ्याका अहेव विमला पाण्डेले बताउनुभयो । उहाँका अनुसार स्वास्थ्यचौकीमा सरकारले उपलब्ध गराउने ४० प्रकारका औषधिसमेत नआउने गरेको गुनासो गर्नुभयो । स्वास्थ्य सस्थामा बिरामी बढ्दै गएकाले औषधि सकिएको जनाइएको छ ।

चिसो बढेसँगै स्वास्थ्यचौकीहरुमा ज्वरो, निमोनिया, क्षयरोगी, झाडापखालालगायतका बिरामी आउने गरेका छन् । उहाँले भन्नुभयो “स्वास्थ्य संस्थामा बिरामी सिकिस्त भएपछि मात्रै उपचारका लागि आउने गर्दछन् । उनीहरूलाई उपचार गर्दा औषधि अभाव भएकाले कोल्टी वा अन्यत्र पठाउने गरेका छौँ । ”

स्वामीकार्तिक–२ बर्कु आधारभूत स्वास्थ्य केन्द्रका सिअहेव बद्री शाहीले बाटोको समस्याका कारण स्वास्थ्य संस्थामा औषधि अभाव भएको जानकारी दिनुभयो । बर्कु स्वास्थ्यचौकीमा सिटामोल सहित अन्य औषधिसमेत अपुग भएको उहाँले बताउनुभयो ।

पूर्वी उत्तरी भेगको जगन्नाथ –१ मा रहेको जगन्नाथ स्वास्थ्यचौकीका प्रमुख फूलमाया उपाध्यायले सिटामोल समेत सकिएको जानकारीदिनुभयो ।

स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले सडक नखुलेका कारण जिल्लामा औषधि अभाव भएको बताउनुभयो । उहाँले भन्नुभयो, “साँफे–मार्तडी राजमार्ग र मार्तडी–कोल्टी सडक सञ्चालनमा आउने वित्तिकै तत्काल औषधि स्थानीय तहमा पठाउने तयारी भइरहेको छ । ”

बाटो नखुलेका कारण प्रदेश स्वास्थ्य निर्देशनालयले जिल्लामा औषधि नपठाएको जनाइएको छ । स्थानीय तहमा औषधि अभाव नहुने गरी निर्देशनालयमा माग गरिएको उहाँले बताउनुभयो ।

यहाँका बुढीगङ्गा नगरपालिका र गौमुल गाउँपालिकामा औषधि पर्याप्त रहेको बताइएको छ । जिल्लाका स्वास्थ्य संस्थामा रुघाखोकी, ज्वरो, टाउको दुख्ने, हातखुट्टा दुख्ने, जोर्नी दुख्ने, झाडापखाला र वान्ताका बिरामी बढी आउने गरेका जनाइएको छ । रासस

प्रतिक्रिया