प्रधानन्यायाधीश राणाविरुद्ध बारले आज उपत्यका सबै अदालतमा धर्ना दिने

admin

काठमाडौँ, कात्तिक २५ : प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्धको आन्दोलन आजदेखि थप सशक्त हुने भएको छ। राणाको राजीनामा माग गर्दै नेपाल बार एसोसियसन र सर्वोच्चका न्यायाधीशहरु आन्दोलनमा छन्।

बारले आज प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै उपत्यकाभित्रका सबै अदालत र न्यायाधिकरणमा बिहान १० देखि १२ बजेसम्म कालोपट्टि बाँधेर धर्ना दिने भएको हो।

यसअघि सर्वोच्च अदालत र बार एसोसियसनको केन्द्रीय कार्यालय परिसरमा मात्रै आन्दोलन गरिरहेको बारले आफ्नो आन्दोलनलाई क्रमशः विस्तार गर्दै लगेको छ। बारले आफ्नो आन्दोलन सशक्त बनाउन देशभरका ९० वटा बार एकाइसँग छलफलसमेत गरिसकेको छ। उक्त छलफलमा बारम्बार आन्दोलन गरिरहनुभन्दा निर्णायक आन्दोलन गर्नुपर्ने सुझाव दिइएको थियो।

बिहीबारदेखि सुरु हुने आफ्नो आन्दोलनलाई सहयोग गर्न बारका महासचिव लीलामणि पौडेलले उपत्यकाभित्रका सबै न्यायिक निकायलाई पत्राचारसमेत गरिसकेका छन्।

बार एसोसियसनसँगै प्रधानन्यायाधीश राणाको राजीनामा माग्दै सर्वाेच्चका न्यायाधीशहरुसमेत कात्तिक ८ गतेदेखि आन्दोलनमा छन्। उनीहरुले राणाले तोकेका इजलासमा बस्न अस्वीकार गर्दै आएका छन्। इजलासमा नबसेको भन्दै सर्वत्रबाट विरोध हुन थालेपछि आन्दोलनरत न्यायाधीशहरुले बन्दी प्रत्यक्षीकरणका मुद्दा भने सुनुवाइ गर्न थालेका छन्।

यसबाहेक अन्य मुद्दाको सुनुवाइ नगरिँदा न्याय प्रक्रिया प्रभावित हुँदै आएको छ। जसले गर्दा न्याय पाउने विश्वासका साथ सर्वोच्च पुग्ने सर्वसाधारण खाली हात फर्कन बाध्य हुँदै आएका छन्।

प्रतिक्रिया