शुक्रबार प्रधानन्यायाधीश राणालाई सर्वोच्च छिर्न नदिने बारको तयारी

admin

काठमाडौँ, कात्तिक २५ : नेपाल बार एशोसियसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्धको आन्दोलनलाई शुक्रबारबाट थप सशक्त बनाउने भएको छ।

राणाको राजीनामा माग्दै चरणबद्ध आन्दोलनमा उत्रिएको बारले बिहीबारको घटनापछि थप आक्रामक रुपमा प्रस्तुत हुने भएको हो।

बिहीबार सर्वोच्च परिसरमा कानुन व्यवसायी र सुरक्षाकर्मीबीच धकेलाधकेल हुँदा ७ घा इते भएका छन्। उक्त घटनाको भर्त्सना गर्दै बारले शुक्रबारदेखि कडा आन्दोलन गर्ने भएको हो।

महासचिव लीलामणि पौडलले विज्ञप्ति जारी गर्दै शुक्रबार बिहान ९ः३० बजे नै सबै कानुन व्यवसायीहरुलाई बार कार्यालयमा उपस्थित हुन निर्देशन जारी गरेका छन्।

बारले भनेको छ, ‘आफ्नै अदालत र कानून व्यवसायीबाट मात्र नभएर आम नागरिकबाटै बहिस्कृत प्रधान न्यायाधीशको विरोधमा नेबाए र आवद्ध सम्पूर्ण एकाईहरुले भविष्यमा थप कठोर कदम चाल्न बाध्य हुने व्यहोरा जानकारी गराउँदै भोलि मिति २०७८/७/२६ गतेका दिन सर्वोच्च अदालतका सम्पूर्ण वेञ्चमा कुनै पनि मुद्दामा बहस पैरवी नगर्ने, वेञ्च बहिष्कार गर्ने र माननीय न्यायाधीशज्यूहरुलाई समेत प्रधान न्यायाधीश चोलेन्द्र शम्सेर राणाले तोक्ने वा तोकेका इजलासमा नबस्न र भोलि मिति २०७८।०७।२६ गते विहान ९ः३० वजे नै सम्पूर्ण कानून व्यवसायीहरुलाई नेबाएमा उपस्थित हुन समेत अपिल गर्दछौँ।’

बिहीबार सभामा सम्बोधन गर्दै बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ र सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले राणालाई गेटमै रोक्ने घोषणा गरेका छन्। त्यसैका लागि वकिलहरुलाई बिहान ९ः३० बजे उपस्थित हुन बोलाइएको हो।

अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा ‘देशद्रोही’ रहेको आरोप लगाएका छन्। प्रहरीको बल प्रयोगप्रति आपत्ति जनाउँदै श्रेष्ठले भनेका छन्- ‘हामीले शान्तिपूर्ण प्रदर्शन गरिरहेका बेला तपाईँहरुले हस्तक्षेप गर्नुभयो। देशद्रोही भाग्दैछ, देशद्रोही भाग्दैछ, तपाईँहरु हामीलाई धरपकड गर्नुस्।’

शाक्यले भने, ‘हाम्रो आन्दोलनमा धरपकड भएको हो। अब प्रधानन्यायाधीश राणालाई सर्वोच्च प्रवेशमै अवरोध गर्छौँ।’ प्रधानन्यायाधीश राणाको राजीनामा माग्दै बारले दैनिक दुई घण्टा कालोपट्टी बाँधेर उपत्यकाकाका अदालतहरुमा धर्ना दिँदै आएको छ। त्यस्तै कात्तिक ८ गतेदेखि न्यायाधीशहरुले इजलास बहिस्कार गर्दै आएका छन्।

प्रतिक्रिया