किन आउँदैछ्न् नेपाल अमेरिकी सहायक विदेशमन्त्री ?

admin

काठमाडौँ, मंसिर १ : दक्षिण तथा मध्य एसिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु तीनदिने नेपाल भ्रमणका लागि बुधबार बेलुकी आउँदै छन् । दक्षिण एसियाकै अर्को मुलुक माल्दिभ्स भ्रमणमा कात्तिक २९ मा निस्केका उनी मालेबाट यता आउन लागेका हुन् ।

सहायक विदेशमन्त्री लुको नेपाल भ्रमणका क्रममा अमेरिका–नेपाल सम्बन्ध, कार्यान्वयन अघि बढ्न नसकेको एमसीसी सम्झौताबारे छलफल हुने परराष्ट्र स्रोतले जनाएको छ । ‘सहायकमन्त्री लुको भ्रमणका दौरान दुई मुलुकबीचको विकास साझेदारी, सहयोगलगायत विषयमा छलफल हुनेछ,’ स्रोतले भन्यो ।

पछिल्लो समय नेपाल–अमेरिका सम्बन्धमा एमसीसी सम्झौता पेचिलो विषय बनेको छ । सन् २०१७ मा हस्ताक्षर भएको उक्त सम्झौता नेपालको संसद्बाट अनुमोदन नहुँदा कार्यान्वयन अघि बढेको छैन ।

त्यही कारण अमेरिका नेपालसँग असन्तुष्ट छ । यसअघि एमसीसीकी उपाध्यक्ष फातिमा सुमारको नेपाल भ्रमण र एमसीसी मुख्यालयले पटक–पटक जारी गरेको विज्ञप्तिमा पनि सम्झौता कार्यान्वयनमा भइरहेको ढिलाइलाई लिएर चासो व्यक्त गरिएको थियो ।

अमेरिकी सहायक विदेशमन्त्री लुले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, परराष्ट्र मन्त्री नारायण खड्का, रक्षामन्त्री मीनेन्द्र रिजाल, गृहमन्त्री बालकृष्ण खाँण, स्वास्थ्यमन्त्री विरोध खतिवडासँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।

स्रोतका अनुसार आवश्यकताअनुसार अन्य मन्त्रीसँग पनि भेटवार्ता हुन सक्ने जनाइएको छ । सहायक मन्त्री लुले एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादीलगायत पार्टीका शीर्ष नेताहरूसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ । ‘

यो भ्रमणका क्रममा द्विपक्षीय सहयोग, विकास निर्माण, कोभिड–१९ महामारीमा भएका स्वास्थ्य सामग्री र खोप सहयोग, जलवायु परिवर्तन, सुरक्षा, विपद् व्यवस्थापनलगायत विषयमा छलफल हुनेछ,’ स्रोतले भन्यो ।

प्रमुख कार्यवाहक सहायक विदेशमन्त्री एलिस वेल्सले २०१८ अगस्तमा भ्रमण गरेपछि नेपाल आउने मन्त्री लु अमेरिकाका सबैभन्दा माथिल्लो तहका पदाधिकारी हुन् । विदेश मन्त्री एन्टोली ब्लिन्कनपछि चार तहमुनि सहायकमन्त्री लु छन् ।

सन् २००२ मा नेपालमा माओवादीको सशस्त्र द्वन्द्व चलेका बेला अमेरिकी विदेशमन्त्री कोलिन पावेल आएका थिए । त्यसयता अमेरिकाबाट त्यो तहको उच्च पदाधिकारीबाट नेपाल भ्रमण हुन सकेको छैन । नेपालका तर्फबाट सन् २०१८ को डिसेम्बरमा तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अमेरिकाको भ्रमण गरेका थिए ।

ज्ञवालीले त्यस बेला अमेरिकी विदेशमन्त्री माइकल पम्पियोसँग भेटवार्ता गरेका थिए । केही साताअघि कोप–२८ का दौरान बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले दिएको रात्रिभोजमा प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी राष्ट्रपति जो बाइडेनको जम्काभेट भएको थियो ।

परराष्ट्र विज्ञ दिनेश भट्टराई सहायक विदेशमन्त्री लुको समुद्र तहदेखि हिमालयसम्म हुन लागेको भ्रमणले अमेरिकाले यस क्षेत्रलाई दिएको चासोलाई प्रस्ट पार्ने मान्छन् । उनका अनुसार यस भ्रमणको दुई मुख्य उद्देश्य रहेको मान्न सकिन्छ । ‘पहिलो, अमेरिकाको यस क्षेत्रमा देखिएको चासो हो ।

दोस्रो, बाइडेन प्रशासन आएपछि अमेरिकाले दक्षिण एसिया र नेपालमाथि लिएको नीतिबारे नेपाललाई जानकारी दिने र अमेरिकाले नेपालको नीतिबारे जानकारी लिने हो,’ उनले भने ।

लु दक्षिण तथा मध्य एसिया मामिलालाई हेर्ने सहायक विदेशमन्त्री भएकाले यस क्षेत्रका सम्पूर्ण विषय उनैले माथिल्लो तहमा रिपोर्टिङ गर्ने प्रस्ट पारे । ‘सहायक विदेशमन्त्री लुको यो भ्रमण नेपाललाई प्राथमिकता दिएर हुन लागेको मान्न सकिन्छ,’ उनले भने ।

प्रतिक्रिया