आगामी निर्वाचनसम्म गठबन्धन कायम रहन्छ : अध्यक्ष नेपाल

admin

चितवन, ३ मङ्सिर : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनसम्म गठबन्धन कायम रहने बताउनुभएको छ ।

जिल्लास्तरीय अगुवा कार्यकता भेला तथा प्रशिक्षण कार्यक्रममा आज यहाँ बोल्दै उहाँले राष्ट्रियसभा, उपनिर्वाचनसहित आगामी आम निर्वाचनसम्म गठबन्धन कायम रहने बताउनुभयो ।

उहाँले भन्नुभयो “नेकपा एमालेलाई धुलो चटाउने छौँ ।” जनताको हित र देशको हितका लागि एकीकृत समाजवादी पार्टी निर्माण गरिएको बताउँदै उहाँले उच्च मनोबलका साथ अघि वढ्न कार्यकर्तालाई निर्देशन दिनुभयो ।

देशमा असम्भव ठानिएका काम आफ्नो नेतृत्वमा भएको भन्दै उहाँले अब समाजवादी पार्टीलाई मजबुद बनाउने कामसमेत आफ्नै नेतृत्वमा आएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “कर्तव्यनिष्ठ र समर्पित भएर पार्टीमा लाग्नुस्, जानताको साथ हामीमा हुने छ ।” यस पार्टीमा लागेर के पाइन्छ भन्ने नभई देश र जनतालाई केही गर्छु भन्ने भावना लिएर आउन उहाँले कार्यकर्तालाई आग्रह गर्नुभयो ।

नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष कृष्णराज पन्तको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे, आन्तरिक मामिला मन्त्री कृष्ण खनाल, पार्टीका प्रवक्ता जगन्नाथ खतिवडालगायतले बोल्नुभएको थियो ।रासस

प्रतिक्रिया