प्रधानन्यायाधीशलाई महाअभियोग लगाउन सभामुखसहित सांसदलाई बारको ज्ञापनपत्र

admin

काठमाडौँ, मंसिर ६ :  प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आन्दोलनरत नेपाल बार एसोसिएसनले सभामुख र संसदमा प्रतिनिधित्व गर्ने दलहरूलाई भेटेर ज्ञापनपत्र बुझाएको छ ।

सोमबार सिंहदरबारमा बारका पदाधिकारीहरुले प्रधानन्यायाधीशको रुपमा रहेर जबराले चरम भ्रष्टाचार गरेको भन्र्दै महाभियोग लगाउनुपर्ने १७ कारण खुलाउदै सभामुख र संसदमा प्रतिनिधित्व गर्ने दलहरुलाई ज्ञापन पत्र बुझाएको हो ।

सभामुख अग्नी सापकोटालाई ज्ञापन पत्र बुझाउँदै बारका महासचिव लीलामणी पौडेलले आफ्नो स्वार्थका कारण प्रधानन्यायधीले अदालतलाई आफुखुसी ढंगले चलाएको बताउनुभयो । उहाले न्यायलयलाइ भ्रष्ट बनाउने प्रधानन्यायधिशलाई महाभियोग लगाउनुपर्ने भन्दै ज्ञापन पत्र बुझाउन आएको जानकारी दिनुभयो ।

ज्ञापन पत्र बुझ्दै सभामुख सापकोटाले न्यायालयको विषयमा बुझ्ने प्रयास गरिरहेको भन्दै आवश्यक सहयोग गर्ने धारणा राख्नुभयो । उहाले न्यायलयका बिषयमा आफ्नो भूमिका निष्पक्ष, स्वतन्त्र र तटस्थ रहने उल्लेख गर्नुभयो ।

त्यस्तै बारको टोलीले नेकपा एमालेसमक्ष पनि ज्ञापन पत्र बुझाएको हो । सिंहदरबारमा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङलाई बारले ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्र बुझ्दै नेम्वाङले बारको आन्दोलनमाथि प्रहरी हस्तक्षेप भएकोमा आफूलाई दुख लागेको बताउनुभयो । न्यायलयका समस्या समाधानका लागि पार्टीको ध्यानाकर्षण गराउन पहल गर्ने उहाको भनाई छ ।

त्यस्तै सोमबार नै बारले माओवादी केन्द्र समक्ष पनि ज्ञापन पत्र बुझाएको छ । ज्ञापन पत्र बुझ्दै माओवादी प्रमुख सचेतक देव गुरुङले न्यायलयमा देखिएको समस्या छिटो भन्दा छिटो समाधान गदै निकास दिनुपर्ने धारणा राख्नुभयो । उहाले यस बिषयमा पार्टीभित्र छलफल गर्ने जानकारी दिनुभयो ।

बारले सोमबार नै राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना , जसपा, लोसपा, जनमोर्चालाई पनि ज्ञापन पत्र बुझाएको छ । गत १४ कात्तिकदेखि नेपाल बारले प्रधानन्यायाधीशको राजीनामा माग्दै आन्दोलन गरिरहेको छ ।

प्रतिक्रिया