आज वर्षा र हिमपातको सम्भावना

admin

काठमाडौँ, मंसिर १६ : आज देशका धेरै ठाउँको मौसम बद्ली हुने मौसमविद्ले बताएका छन् । पश्चिमी वायुसँगै आएको पश्चिमी न्यूनचापीय प्रणाली र अरब सागरमा बनेको न्यूनचापीय क्षेत्रका कारण आज देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले मौसम सम्बन्धी विशेष बुलेटिन निकालेर आज देशका धेरै ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने र हिमाली जिल्लामा भारी हिमपात हुन सक्ने जनाएको हो ।

मौमसविद् समिर श्रेष्ठअनुसार आज दिउँसाे सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र वाग्मती प्रदेशका पहाडी क्षेत्रका केही ठाउँमा हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना छ ।

यस्तै यी प्रदेशका हिमाली जिल्लामा मध्यमदेखि भारी हिमपात हुनेछ । यस्तै, राति पनि वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद् श्रेष्ठले बताउनुभयो ।

भोलि पनि मौसम यस्तै रहने मौसमविद्ले बताएका छन् । पर्सिदेखि भने मौसम केही खुल्ने अनुमान गरिएको छ । पश्चिमी वायुसँगै आएको पश्चिमी न्यूनचापीय प्रणाली र अरब सागरमा बनेको न्यूनचापीय क्षेत्रको प्रभाव कमजोर बन्दै जाने भएकाले पर्सि मौसम केही खुल्ने अनुमान गरिएको हो ।

यस्तै, हिमाली जिल्लामा भारी हिमपातको सम्भावना रहेकाले सकेसम्म पर्वतारोहणमा नजान मौसमविद्को सुझाव छ ।

यदि जानै परे मौसमबारे जानकारी लिन उनीहरुको आग्रह छ । यस्तै, वर्षा र हिमपातका कारण चिसो बढ्ने भएकाले आवश्यक सावधानी अपनाउन पनि मौसमविद्को आग्रह छ ।

प्रतिक्रिया