सडकबाटै भएपनि राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापना गराउँछुः राजेन्द्र लिङ्देन

admin

काठमाडौँ, मंसिर १९ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले सदनबाट नभए सडकबाट भए पनि राप्रपाको एजेण्डा स्थापित गराउने बताएका छन् ।

आज आयोजित नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यको प्रमाणपत्र वितरण तथा शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सदनबाट नभए सडकबाट राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापना गराउने बताए ।

लिङ्देनले पार्टीमा आफू नेतृत्वमा देखिए पनि पाका र अनुभवी नेताहरू साथमा रहेकाले एजेण्डा स्थापित गराउन सकिने बताए। उनले नेतृत्व हस्तान्तरणको व्यवस्था नहुनुले राजनीतिक गतिरोधले निरन्तरता पाइरहेको बताएका छन्।

पार्टी विभाजित हुने र बहुमत प्राप्त सरकार पनि पूरा कार्यकालसम्म नटिक्ने अवस्था पार्टीको विधान र कानुनमा नेतृत्वको हस्तान्तरणको व्यवस्था नगरिएको कारण रहेको दाबी गरे।

नेतृत्व हस्तान्तरणको व्यवस्था नहुँदा अरू पार्टीसँग मिलेर आफ्नै पार्टीका नेताले र अरू पार्टी पनि सरकार बनाउने र ढाल्ने कार्यले निरन्तरता पाएको उनको भनाइ छ। त्यसैको अन्त्यका लागि आफूले राप्रपामा नयाँ नेतृत्व ल्याउनुपर्ने निष्कर्षसहित आफूले उम्मेदवारी दिएको लिङ्देनले जानकारी दिए।

आफू नेतृत्वको नवनिर्वाचित पदाधिकारी र सदस्यहरूले निष्ठापूर्वक काम गर्ने प्रतिबद्धता जनाएका लिङ्देनले निवर्तमान अध्यक्ष कमल थापासहित पशुपतिशमशेर जबरा र प्रकाशचन्द्र लोहनीको योगदान अझै पार्टीलाई आवश्यक रहेको बताए।

राप्रपामा थापाले पु¥याएको योदानको उच्च रहेको भन्दै उनले निवर्तमान अध्यक्षत्रय थापा, जबरा र लोहनी अभिभावकको रूपमा मात्र होइन सक्रिय नेताको भूमिका पार्टीमा आवश्यक रहने बताए। अब राप्रपा नेतृत्व हस्तान्तरणको अभियानमा अघि बढ्ने उनको भनाइ छ।

प्रतिक्रिया