कुवेतमा पनि भेटियो कोरोनाको नयाँ भेरियन्ट

admin

काठमाडौँ, मङ्सिर २३ : कुवेतमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ भेटिएको छ । ओमिक्रोन केस अफ्रिकी देशहरूबाट आएका मध्ये एक यात्रुमा फेला परेको कुवेतको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा अब्दुल्ला अल–सनदले बुधबार जानकारी दिनु भएको हो ।

संक्रमित व्यक्तिले यसअघि नै कोभिड–१९ को दुवै डोज खोप लगाई सकेका थिए । उनी अहिले स्वास्थ्य प्रोटोकल अनुसार संस्थागत क्वारेनटाइनमा रहेको प्रवक्ता डा. अल–सनदलाई उद्धृत गर्दै अरब टाइम्सले जनाएको छ ।

कुवेतमा ओमिक्रोनका बिरामी भेटिएसँगै नेपाली कामदारहरूलाई थप सतर्कता अपनाउन तथा सार्वजनिक स्थलहरूमा हिँडडुल गर्दा अनिवार्य रूपमा मास्क लगाउन तथा आवश्यक सावधानी अपनाउन नेपाली दूतावासले अनुरोध गरेको छ । रोजगारको सिलसिलामा त्यहाँ पुगेका नेपालीहरु पनि यसबाट प्रभावित हुने भएका छन् ।

विश्व स्वास्थ्य संगठनले कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ खतरनाक रहेको भन्दै सचेत रहन सबै देशलाई अपील गरेको छ ।

अफ्रिकाबाट सुरु भएको कोरोनाको नयाँ भेरियन्ट अधिकांश देशमा पुगिसकेको छ । विभिन्न देशहरुले बाह्य उडानहरु धमाधम रद्द गर्न थालेका छन् भने विदेशी यात्रुहरुलाई आवगमनमा रोक लगाइरहेका छन् ।

प्रतिक्रिया