हिमालयनलाई हराउँदै मछिन्द्र शीर्ष स्थानमा

admin

काठमाडौँ, मङ्सिर २५ : साविक विजेता मछिन्द्र फुटबल क्लब सहिद स्मारक लिग ‘ए’ डिभिजन फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

शनिबार भएको खेलमा हिमालयन शेर्पा क्लबलाई ३-० गोल अन्तरले पराजित गर्दै मछिन्द्र शीर्ष स्थानमा उक्लिएको हो।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मछिन्द्रलाई जित दिलाउन सुनिल बल, नुर्लान नोभ्रुजोभ र विमल घर्ति मगरले एक एक गोल गरे । सुरुआतबाटै आक्रामक खेल पस्किएको मछिन्द्रका नुर्लान नोभ्रुजोभले ११ औं मिनेटमा प्रहार गरेको बल क्रस बारमा लागेर बाहिरिदा अग्रता बनाउन चुकेको थियो । डिफेन्डर रंजित धिमालको लामो पासमा नुर्लानले पेनाल्टी एरियाबाट प्रहार गरेका थिए ।

२२ औं मिनेटमा पेनाल्टी एरियाको ठिक बाहिरबाट मछिन्द्रका सुनिल बलको फ्रि-किक हिमालयनका गोलकिपर दीप कार्कीले पन्च गर्दै बाहिर पठाए ।
तर, खेलको २९ औं मिनेटमा सुनिल बलले गोल गर्दै मछिन्द्रलाई सुरुआती अग्रता दिलाए । सेट पिसमा गोल निकाल्ने क्रममा सुनिलले नुरेन करिमको फ्रि-किकमा हिमालयनका गोलकिपर दीप कार्की अघि बढेको अवस्थामा रन बनाएर गोल गरेका हुन् ।

खेलको ३३ औं मिनेटमा मनिष डाँगीको क्रसमा मछिन्द्रका सुनिल ट्याप इन गर्न असफल भए । ४७ औं मिनेटमा हिमालयनका सुरेश कुमालको प्रहार मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठले मुश्किलले जोगाएपछि हिमालयन बराबरी गर्न चुकेको थियो ।

खेलको ६८ औं मिनेटमा नुर्लानले गोल गर्दै मछिन्द्रलाई २-० को अग्रता दिलाए । विशाल राईको कर्नरमा हिमालयनका सुरेश कुमाललाई लाग्दै आएको बलमा सिक्स यार्ड बक्समा रहेका नुर्लानले पोस्टको जाली चुमाए । त्यसपछि खेलको इन्जुरी समयमा विमलले गोल गर्दै मछिन्द्रलाई ३-० को जित दिलाए ।

प्रतिक्रिया