कांग्रेस महाधिवेशन : समाचार संकलन गर्न नदिएपछि पत्रकारको क्यामेरा डाउन, सुरक्षा व्यवस्था कडा

admin

काठमाडौं, २७ मंसिर : नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान भइरहेको छ । नेपाली कांग्रेसको निर्वाचन समितिले सञ्चारकर्मीलाई बाहिर निकाल्न खोजेपछि पत्रकारहरुले क्यामेरा डाउन गरेका छन् ।

निर्वाचनस्थल राष्ट्रिय सभागृहमा कांग्रेस महाधिवेशनको समाचार संकलन गर्न पुगेका सञ्चारकर्मीलाई निर्वाचन समितिले बाहिर निकाल्न खोजेपछि सञ्चारकर्मीहरूले क्यामेरा डाउन गरेर विरोध गर्दै भुइँमा बसेका हुन् ।

सञ्चारकर्मीलाई सुरक्षाकर्मीले समाचार संकलन गर्न नदिएर बाहिर निकाल्न धकेलेको गुनासो गरेका छन् । मतदानस्थल परिसरमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । प्रतिनिधि बिहानैदेखि लाइनमा उभिएका छन् ।

यस्तै कांग्रेस सभापति पदका उम्मेदवार शेरबहादुर देउवाले मतदान गरिसकेका छन् भने कांग्रेस नेतृ एवम् उपसभापति पदका उम्मेदवार सुजाता कोइरालाले पनि मतदान गरेकी छिन् । १४औं महाधिवेशन अन्तर्गत पार्टी नेतृत्व चयनका लागि भृकुटीमण्डपमा जारी मतदानमा देउवा र सुजताले मतदान गरेका हुन् ।

त्यस्तै नेताहरु प्रकाशमान सिंह र बालकृष्ण खाँणले पनि मतदान गरिसकेका छन्, भने अन्य प्रत्यासी डा. शेखर कोइराला र विमलेन्द्र निधि पनि मतदानस्थलमै छन् । यसैगरी उपाध्यक्षका उम्मेदवारद्वय विजयकुमार गच्छदारलगायतका नेताहरु डा.रामशरण महत, सुनील थापा, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीलगायतले पनि मतदान गरिसकेका छन् । मतदान गरेलगत्तै सभापति देउवा फर्किएका छन् ।

अहिले मतदान जारी छ । राष्ट्रिय सभागृहमा रहेको मतदान केन्द्रबाट मतदान सुरु भएको हो । मतदानका लागि तीन ठाउँमा मतदान केन्द्र स्थापना गरिएको छ । मतदानका लागि प्रतिनिधि लामबद्ध रहका छन् । कांग्रेसका नेता कुलबहादुर गुरुङले पहिलो मत खसालेका थिए ।

एकैपटक धेरैले मतदान गर्ने व्यवस्थाका लागि राष्ट्रिय सभागृह, भृकुटीमण्डप प्राङ्गण र भृकुटीमण्डपको हलमा गरी सयौँ बुथ राखिएको छ । भृकुटीमण्डपका दुई ठाउँमा दुई हजार १०० र एक हजार ३०० तथा राष्ट्रिय सभागृहमा एक हजार ३०० मतदाताका लागि मतदान गर्ने प्रबन्ध मिलाइएको छ ।

अहिलेसम्म तीनवटै मतदान केन्द्रबाट करिब २०० जनाले मतदान गरिसकेको निर्वाचन समितिले जनाएको छ । एक जना प्रतिनिधिलाई मतदान गर्न करिब आधा घण्टा समय लाग्ने जनाइएको छ । बिहान ८ बजेदेखि मतदान सुरु गर्ने तयारी गरे पनि प्राविधिक तयारी नपुगेका कारण मतदान सुरु हुन ढिलाइ भएको थियो ।

निर्वाचन तालिकामा मतदान बिहान ८ देखि ५ बजेसम्म हुने उल्लेख गरिए पनि राति ८ बजेसम्म सम्पन्न हुने समितिको अनुमान छ । सभापति पदको मतगणना मतदान समाप्त भएपछि हुनेछ । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ ।

कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने व्यवस्था छ । यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासीरजनजाति १५, खसरआर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसङ्ख्यकबाट एक, अपाङ्गता भएका व्यक्तिबाट एक सदस्य गरी कुल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने विधानमा व्यवस्था छ ।

सभापति पदको दोस्रो चरणको निर्वाचन गर्नुपर्ने भएमा राष्ट्रिय सभा गृह, भृकुटीमण्डपमा लगत्तै गरिनेछ र निर्वाचनसम्बन्धी थप कार्यक्रम मतदानस्थलमा नै प्रकाशन गरिने समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए ।

सभापतिबाहेक अन्य पदाधिकारी र सदस्य पदको मतदान समाप्त भएपछि उम्मेदवार वा उम्मेदवारका प्रतिनिधिको रोहवरमा मतपेटिका सिलबन्दी गरी पार्टी केन्द्रीय कार्यालयमा सुरक्षित राखिनेछ ।

सभापति पदबाहेक बाँकी पदाधिकारी र सदस्यको मतगणना केन्द्रीय कार्यालय सानेपामा हुनेछ । यसैगरी मतदानस्थल (भृकुटीमण्डपरराष्ट्रिय सभा गृह) भित्र मोबाइल फोन लिएर जान नपाइने आचारसंहितामा जारी गरिएको छ ।

प्रतिक्रिया