काठमाडौं, २८ मंसिर : कांग्रेस सभापतिको चयनका लागि (आजै) मंगलबार दोस्रो चरणको मतदान हुँदैछ । दिउँसो ३ बजेपछि पुनः मतदान हुने नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
पहिलो चरणको चुनावमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेपछि फेरि दोस्रो चरणमा मतदान हुन लागेको हो । मतदान (हिजो) सोमबार तोकिएकै तीन ठाउँमा हुनेछ । राष्ट्रिय सभा गृह र भृकुटीमण्डपमा तोकिएका तीन ठाउँमै दिउँसो साढे ३ बजेदेखि बेलुका साढे ७ बजेसम्म चुनाव हुने निर्वाचन समितिले जनाएको छ ।
पहिलो चरणमा देउवाले २ हजार २ सय ५८ मत पाएका थिए भने कोइरालाले १ हजार ७ सय २ मत पाएका थिए । कांग्रेसको विधानअनुसार सभापतिमा निर्वाचित हुन बहुमत अर्थात ५० प्रतिशतभन्दा बढी मत ल्याउनैपर्छ ।
यदि कुनै पनि ५० प्रतिशत नकटाएको अवस्थामा सबैभन्दा धेरै मत प्राप्त गर्ने दुई प्रतिस्पर्धीकाबीच पुनः मतदान गराउनुपर्ने व्यवस्था छ । सभापतिको परिणाम आएपछि मात्रै बाँकी पदको मतगणना हुनेछ ।
नेपाली कांग्रेसको सभापतिका लागि दोस्रो चरणमा मतदान हुने भएपछि नेताहरु आन्तरिक छलफलमा व्यस्त छन् । पहिलो चरणको चुनावमा तेस्रो स्थानमा रहेका प्रकाशमान सिंहलाई आफ्नो पक्षतिर तान्न संस्थापन पक्ष र संस्थापन इतर समूह जुटेको छ ।
संस्थापन पक्षका नेता एवम् गृहमन्त्री बालकृष्ण खाँडले सिंहलाई उनकै निवास चाक्सीबारी पुगेर भेटवार्ता गरेका छन् । यस्तै, संस्थापन इतर समूहका सभापतिका उम्मेदवार रहेका शेखर कोइरालाले पनि प्रकाशमान सिंहसँग छलफल गरेका छन् । नेता सिंहले शेरबहादुर देउवालाई समर्थन गर्ने भएका छन् ।
पार्टी नेतृत्वका लागि दोस्रो चरणको चुनाव हुने भए पछि बिहान सिंहलाई भेट्न सभापति देउवा उनकै निवास चाक्सीबारी पुगेका थिए । चाक्सीबारीमा सिंहले आफ्ना पक्षका नेता कार्यकर्ताहरूसँग छलफल गरेका थिए । छलफल पछि नेता कार्यकर्तालाई सम्बोधन गर्दै नेता सिंहले आफ्नो समर्थन देउवालाई नै रहेको बताएका हुन् ।
कांग्रेस १४औँ महाधिवेशनका सभापतिका उम्मेदवार सिंह तीन सय ७१ मत पाउँदै तेस्रो स्थानमा रहेका थिए । अब कांग्रेसको नयाँ नेतृत्वका लागि शेरबहादुर देउवा र शेखर कोइरालाबीच दोस्रो चरणको चुनाव हुनेछ । अब कांग्रेसको नयाँ नेतृत्वका लागि शेरबहादुर देउवा र शेखर कोइरालाबीच दोस्रो चरणको चुनाव हुनेछ।
देउवाद्वारा पौडेलको प्रशंसा
यस्तै, वरिष्ठ नेता रामचन्द्र पौडेलले आयोजना गरेको चियापानमा सभापतिका दुवै प्रत्याशी सहभागी भएका छन् । मंगलबार बिहान लैनचौरमा भएको चियापान कार्यक्रममा शेरबहादुर देउवा र शेखर कोइराला सहभागी भएका हुन् ।
नेतृत्वका लागि भएको पहिलो चरणको चुनावमा पहिलो र दोस्रो भएका देउवा र कोइराला पौडेलको निम्तो मान्न लैनचौर पुगेका हुन् । पहिलो चरणमा पौडेलले कोइरालालाई आफ्नो समर्थन रहेको बताएका थिए ।
दोस्रो चरणको चुनावमा भने कसलाई समर्थन गर्ने भन्नेबारे उनले केही सार्वजनिक गरेका छैनन् । उनले आफ्ना प्रतिनिधिलाई विवेक प्रयोग गर्न आग्रह गरेका छन् । यस्तै, कार्यक्रममा देउवाले पौडेलको प्रशंसा गरेका छन् ।