मसँग देशलाई समृद्ध बनाउने पर्याप्त आधार छन् : माधव नेपाल

admin

काठमाडौं, २ पुस : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देशलाई सबै खालका अन्यायबाट मुक्ति दिलाउन चाहेको बताएका छन् ।

(आज) शुक्रबार काठमाडौंमा आयोजित उत्कृष्ट युवा किसान सम्मान कार्यक्रममा अध्यक्ष नेपालले देशलाई सबै खालका अन्याय, अत्याचार र शोषण, दमनबाट मुक्ति दिलाउन चाहेको बताएका हुन् । उनले देशलाई समृद्ध बनाउने पर्याप्त आधारहरू आफूसँग रहेको समेत बताए ।

अध्यक्ष नेपालले यो देशलाई पिछडिएको अवस्थाबाट समुन्नत बनाउने पर्याप्त सम्भावना रहेको भन्दै देशमा नै नागरिकलाई खानका लागि चाहिने खाद्यान्नको आवश्यक परिपूर्ति पूरा गर्न सकिने बताए । उनले नेपालमा रहेको अर्थतन्त्रका क्षेत्रमध्ये कृषि अत्यधिक महत्त्वपूर्ण भएकाले कृषिलाई सबैभन्दा बढी प्राथमिकता दिएर अघि बढ्नुपर्ने बताए ।

अध्यक्ष नेपालले कृषिमा लाग्दा इज्जत नघट्ने भन्दै सरकारले कृषिलाई बजारसँग जोड्न भौतिक पूर्वाधारको विकासमा जोड दिनुपर्ने बताए । उनले सरकारले गुणस्तरलाई हेरेर छिटो र छरितो विज्ञान प्रविधिलाई कृषिमा जोड्नुपर्ने बताए ।

अध्यक्ष नेपालले नेपालमा पर्यटन, जलविद्युत् र कलकारखाना खोल्न बलियो सम्भावना रहेको तर यसमा अध्ययन र अनुसन्धान आवश्यक रहेको बताए । उनले प्रविधिको प्रयोगसँगै वातावरणलाई पनि त्यत्तिकै महत्त्व दिन आवश्यक रहेको भनाइ राखे ।

अध्यक्ष नेपालले नेपालमा प्रतिहेक्टर, प्रतिबिघा उत्पादन गर्ने क्षमता अत्यन्त कम रहेको भन्दै थोरै ठाउँमा धेरै उत्पादन हुने गरी आधुनिक तरिकाबाट कृषि गर्नुपर्ने बताए । उनले सामूहिकता र सहकारिताका साथ कृषिमा लागे सबैलाई लाभ हुने बताए ।

प्रतिक्रिया